हाइड्राे चम्किँदा नेप्सेले पार गर्‍याे २१ सय विन्दु

मंगलबार, २९ जेठ, २०८१
डिजिटल संस्करण

जलविद्युत् कम्पनीको सेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.१५ अंकले बढेको छ। आज नेप्से परिसूचक १.५९ प्रतिशतले बढेर दुई हजार एक सय १५.२४ विन्दुमा कायम भएको हो।

आज तीन सय ११ कम्पनीको एक करोड २६ लाख ६५ हजार तीन सय २९ कित्ता सेयर ७४ हजार आठ सय ७७ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार सात सय ३९ बराबरको कारोबार भएको छ। 

जलविद्युत् कम्पनीहरूको मात्र आज रु. दुई अर्ब २८ करोड सात लाख ९० हजार आठ सय ४५ बराबरको ५९ लाख ७९ हजार चार सय ४३ कित्ता सेयर किनबेच भएको छ।

आजको कारोबारमा जलविद्युत् समूहको उपसूचक २.५८, व्यापार २.१२, निर्जीवन बिमा २.१९, जीवन बिमा २.४० र वित्त समूह २.१६ प्रतिशतले बढेको छ। बैंकिङ समूह १.७३, विकास बैंक १.४२, होटेल तथा पर्यटन ०.५९, लगानी १.०९ र उत्पादन तथा प्रशोधन ०.४० प्रतिशतले बढेको छ। 

त्यस्तै, म्युचुअल फन्ड ०.५० र अन्य समूहको उपसूचक ०.५३ प्रतिशतले बढेको छ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, ग्रिन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

सबैभन्दा धेरै गुमाउनेमा भने सामलिंग पावर कम्पनी लिमिटेडको सेयर मूल्य ५.८१ र कुमारी इक्विटी फन्डको सेयर मूल्य ४.९४ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. ३६ करोड ३० लाख ९२ हजार नौ सय १० बराबरको पाँच लाख २५ हजार एक सय ८५ कित्ता सेयर किनबेच भएको छ।

सुझावित समाचार