गण्डकीमा फ्लोर क्रस गरेका सांसद भन्छन्– प्रदेश सभा जोगाउन मत दिएँ

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेश सभामा फ्लोर क्रस गरेका सांसद फणिन्द्र देवकोटाले प्रदेश सभा जोगाउन आफूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको बताएका छन्।

प्रदेश सभा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै देवकोटाले प्रदेशमा अस्थिरता बढेपछि आफ्नो पार्टीमा छलफल गरेरै पाण्डेलाई विश्वासको मत दिएको बताएका हुन्।

माओवादी केन्द्रको चिह्न लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका नेता देवकोटाले फ्लोर क्रस गरेपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले सोमबार प्रदेश सभाको विश्वास पाएका हुन्।

‘गण्डकी प्रदेशको स्थिति अलि जटिलतातिर गयो। १५ –१६ महिनामै चारपटकसम्म सरकार फेरबदलको स्थिति बन्यो। गण्डकी प्रदेश सभा रहने कि नरहने भन्ने गम्भीर चुनौती देखियो,’ देवकोटाले भने।

यसअघि खगराज अधिकारी र पाण्डेलाई क्रमशः मुख्यमन्त्री बनाउन आफूले हस्ताक्षर गरे पनि पछिल्लो समय आफूहरूलाई जानकारी नदिई गठबन्धनले निर्णय गर्न थालेको भन्दै देवकोटाले असन्तुष्टि जनाए। उनले भने, ‘पहिलोपटक खगराज (अधिकारी) माननीयलाई हस्ताक्षर गरेर हामीले समर्थन दिएका थियौँ। केन्द्रीय राजनीतिमा परिवर्तन भएर सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार बनाउनेभन्दा पनि मैले हस्ताक्षरसहित दिएको थिएँ। पछिल्लो चरणमा हामीलाई थाहा नै नदिई संख्या गणना गरेर सरकार फेरबदल गर्न थालियो। त्यसपछि नै मलाई गम्भीर शंका लाग्यो– गण्डकी प्रदेश अब बर्बादीतिर जाँदै छ।’

माओवादी केन्द्रको ह्विपबारे सोधिएको प्रश्नमा देवकोटाले संसद् र निर्वाचन आयोगमा आफ्नो पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ रहेकाले अर्को पार्टीको ह्विपको अर्थ नरहने तर्क गरे।

सुझावित समाचार