युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कर्णालीको सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुदका लागि तयार भइरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन्।
उद्घाटन र समापन हुने प्रमुख रंगशाला, पौडीपोखरी, नवनिर्मित कभर्डहल, ब्याडमिन्टन हललगायतका संरचनाको सोमबार निरीक्षणसँगै प्रगति विवरणबारे जानकारी लिए।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वमित्र सञ्ज्यालले पूर्वाधारको अवस्थाबारे विस्तृत रूपमा जानकारी गराए। रंगशालाको ८० प्रतिशत काम सम्पन्न भइसकेको र असारभित्र सेन्थेटिक ट्रयाकबाहेक सबै काम सम्पन्न हुने जानकारी गराए। बनिरहेका अन्य संरचना पनि समयमा नै बनिसक्ने सञ्ज्यालले बताए।
रंगशालालगायत क्रिकेट मैदान, बहुउद्देश्यीय कभर्ड हल, भलिबल कोर्ट, बास्केटबल कोर्ट, रग्बी मैदान, फुटबल मैदान, ह्यान्डबल, स्क्वास कोर्ट, पौडीपोखरीजस्ता करिब एक दर्जन नयाँ खेलकुद संरचना अहिले निर्माण भइरहेको छ।
निरीक्षणपश्चात् मन्त्री श्रेष्ठले तोकिएकै समयमा दशौँ आयोजना हुने बताए। यसका लागि सबैलाई जुटेर यो अवसरलाई पर्वको रूपमा मनाउन सबैलाई आग्रह गरे। विशेषगरी आवास नै प्रमुख चुनौती हुन सक्ने भन्दै यसमा योजना बनाएर नै काम गर्नुपर्नेमा जोड दिए।
भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियताप्रति धन्यवाद दिँदै मन्त्री श्रेष्ठले तोकिएकै समयमा आयोजना गर्नका लागि मन्त्रालयको काम प्रक्रिया अघि बढाइसकेको जिकिर गरे।
सोही अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सम्भावित खेल हुने स्थानबारे पनि जानकारी गराएको छ। विभिन्न नौ जिल्लामा ३० खेल खेलाउन तयार रहेको र ६ खेल खेलाउन नसक्ने कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जानकारी गराएको छ।
नवौँमा समावेश ३६ खेलमध्ये लनटेनिस, सुटिङ, जिम्न्यास्टिक, सफ्ट टेनिस, ट्रायथलन र गल्फको कुनै पनि पूर्वाधार कर्णालीमा नभएकाले यी खेल कर्णालीमा हुन नसक्ने परिषद्ले जानकारी गराएको हो। निरीक्षणपश्चात् मन्त्री श्रेष्ठले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री वीरबहादुर शाही, नगर प्रमुख मोहनमाया ढकालसँग छलफल गरेका छन्।