सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटको विनियोजन शीर्षकको किताब समयमा नछापिँदा संसद् प्रभावित भएको छ । सरकारकै मन्त्रीहरूको असन्तुष्टिका कारण मन्त्रालयगत विनियोजन शीर्षकको किताब छापिन ढिलाइ हुँदा त्यसको असर संसद्को कार्यतालिकामा परेको हो ।
अर्थमन्त्री वर्षमान पुनले २४ जेठमा प्रतिनिधिसभामा पेस गरेको विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि आइतबारदेखि छलफल प्रारम्भ गर्ने कार्यसूची थियो । विनियोजन विधेयकअन्तर्गत आइतबार वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकमा छलफल हुनुपर्ने थियो ।
साथै, सांसदहरूले यी मन्त्रालयका शीर्षकअन्तर्गत राखेको खर्च कटौती प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । तर, मन्त्रीहरूको असन्तुष्टिका बीच मन्त्रालयगत विनियोजन शीर्षकको किताब समयमै नछापिँदा संसद् दुई दिनलाई सार्नुपरेको छ । सरकारको अनुरोधमा सभामुख देवराज घिमिरेले दलहरूका प्रमुख सचेतकसँग छलफल गरी प्रतिनिधिसभा बैठक मंगलबारसम्मलाई सारेका छन् ।
सरकारी तयारी फितलो हुँदा यसै महिनाभित्र सक्ने क्यालेन्डर बनाइएको बजेटसम्बन्धी छलफल धकेलिएको छ । ‘विनियोजन शीर्षकअन्तर्गतको किताब मन्त्रालयले पठाएनन् । किताब नै नभएपछि सांसदहरूले मन्त्रालयको विस्तृत योजना हेर्न पाएनन् । विभिन्न शीर्षकमा खर्च कटौती प्रस्ताव गर्न पाएनन्,’ संसद् सचिवालयका एक पदाधिकारीले भने, ‘यसले सदनको बिजनेस प्लानमा पनि असर गर्यो । क्यालेन्डर प्रभावित भयो ।
प्रतिनिधिसभामा छलफल सकिएपछि राष्ट्रिय सभामा जाने भएकाले माथिल्लो हाउसको बिजनेसमा पनि असर पर्यो । यसमा सरकारको अकर्मण्यता के देखिन्छ? समयमा किताब छाप्न नसक्ने सरकारले अरू के गर्न सक्छ र ?’ उनका अनुसार बजेट बनाउने अर्थ मन्त्रालयकै किताब आइसकेको छैन । प्रधानमन्त्री कार्यालयको पनि सदनलाई प्राप्त भइसकेको छैन । विकासे शीर्षकमा विनियोजन गर्ने भौतिक मन्त्रालयको पनि आएको छैन ।
मन्त्रालयगत बजेटको पुस्तक प्राप्त भएन । समयमै प्रकाशन गर्न योग्य फाइनल दस्तावेज नपाएकाले प्रकाशन नभएको भन्ने बुझिएको छ । सोमबारसम्म सबै पुस्तक उपलब्ध गराउँछु भन्ने प्रतिबद्धता छ । पुस्तक प्राप्त भएपछि सांसदलाई अध्ययन गर्न समय त दिनुपर्छ ।
महेश बर्ताैला, प्रमुख सचेतक, एमाले
कार्यव्यवस्था तथा परामर्श समिति सदस्य एवं प्रमुख प्रतिपक्षी सांसद रामहरि खतिवडाले विनियोजन शीर्षकमा सरकारले हेलचेक्र्याइँ गरेर सदनलाई हेपेको बताए । ‘हामीलाई थाहा नदिईकन आकस्मिक रूपमा सदन सारियो । संसद्को क्यालेन्डर थियो । संसद् चल्नुपथ्र्याे,’ उनले भने, ‘फेरि बजेटको छलफल नयाँ होइन । कुन मन्त्रालयको किताब कहिले बनाउने, कहिले छापिन्छ भन्ने सरकारलाई थाहा छ । सरकार कमजोर भयो । अहिले विभिन्न बहानामा सार्ने काम भयो । सभामुखले छलफल नगरीकन गर्दा दुःख लागेको छ । कार्यव्यवस्थामा यो कुरा उठाउँछौँ ।’
राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारकै कमजोरीले सदन चलाउन नसकिएको बताए । ‘सरकारको कमजोरी हो । जाबो एउटा किताब छाप्न सकेन । किताब नछापीकन कसरी सदन चलाउने, छलफल गर्ने विषय नै विनियोजन शीर्षकमा हो । मन्त्रालयहरूले किताबै नछापेपछि कसरी छलफल गर्ने ?’ उनले भने ।
एमाले प्रमुख सचेतक महेश बर्ताैलाले सरकारले समयमा पुस्तक उपलब्ध नगराउँदा संसद् प्रभावित भएको बताए । ‘मन्त्रालयहरूबाट पुस्तक प्राप्त भएन । समयमै प्रकाशन गर्न योग्य फाइनल दस्तावेज नपाएकाले प्रकाशन नभएको भन्ने बुझिएको छ । सोमबारसम्म सबै पुस्तक उपलब्ध गराउँछु भन्ने प्रतिबद्धता छ । पुस्तक प्राप्त भएपछि सांसदलाई अध्ययन गर्न समय त दिनुपर्छ,’ उनले भने, ‘संसद्मा आउने डकुमेन्ट छिटो आउनुपर्छ । नभए संसद्को सेड्युल प्रभावित हुन्छ । प्रभावकारितामा पनि गतिरोध सिर्जना गर्छ । यसमा मन्त्रीहरूको ध्यानाकर्षण हुनुपर्छ ।’
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले मन्त्रालयगत छलफल गर्न पुस्तक नआएकाले सदन सार्नुपरेको बताए । ‘बजेट निर्माण प्रक्रिया हतारो भयो । छलफलको गहनता नपुग्ने कारणले दुई दिन सारेको हो,’ उनले भने । आगामी आवको विनियोजन शीर्षकमा मन्त्रीहरूले असन्तुष्टि जनाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा कानुनमन्त्री पदम गिरी, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, पर्यटनमन्त्री हितबहादुर तामाङ, महिलामन्त्री भगवती चौधरी, वनमन्त्री नवलकिशोर साह सुडी, शिक्षामन्त्री सुमना श्रेष्ठलगायतले आफूले पठाएको विनियोजन शीर्षक हेरफेर भएको भन्दै असन्तुष्टि जनाएको एक मन्त्रीले जानकारी दिए । ‘अरूको कार्यक्रम, बजेट, पूर्वाधारको उत्तरदायित्व हामीले कसरी लिने ? सदनमा के जवाफ दिने ? मूलभूत कुराहरू नै छुटेको छ । जिम्मेवारी र उत्तरदायित्वमा अपनत्व गराउने हुने खालको हुनुप¥यो,’ असन्तुष्ट एक मन्त्रीले भने । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरूका असन्तुष्टिका विषयमा छुट्टै बसेर हल खोज्ने प्रतिबद्धता जनाएका छन् ।
कानुनमन्त्री गिरीले आफ्नो जिल्लाको महत्वपूर्ण आयोजना विनियोजन शीर्षकमा नपारेकोमा मन्त्रिपरिषद् बैठकमा कडा आपत्ति जनाएका थिए । ‘मन्त्रीले एउटा पठाउने, अर्थबाट अर्कै आउने, यो गम्भीर विषय हो,’ गिरीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने । जवाफमा प्रधानमन्त्री प्रचण्डले यसलाई गम्भीर ढंगले सोच्नुपर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । अर्थमन्त्री पुनले भने, ‘जहाँसम्म भएको छैन होला, म हेर्छु, कमजोरी भएको छ भने कसरी सच्याउने हेरौँला ।’
क्याबिनेटमा वनमन्त्री सुडीले पटकपटक भन्दा पनि मन्त्रालयले पठाएको योजना नपरेको भन्दै गुनासो गरेका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले मन्त्रिपरिषद्मा कानुनमन्त्रीले बजेटमा असन्तुष्टि राखेको बताए । ‘उहाँको कुराले हाम्रो पनि त्यस्तो भएको छ कि भनेर सबै मन्त्रीले झस्किनुपर्ने अवस्था आयो,’ उनले भने, ‘यसमा प्रधानमन्त्रीजीले व्यवस्थापन गरेर जाने भन्नुभएको छ ।’
खेलकुदमन्त्री श्रेष्ठले पनि बजेटमा विनियोजन शीर्षकमा हेरफेर भएको भन्दै मन्त्रिपरिषद्को बैठकमा कुरा उठेको बताए । ‘पठाएको र आएको फरक छ भनेर माननीयज्यूहरूबाट कुरा उठेको छ । यसलाई सम्बोधन गर्नुपर्छ भन्ने सम्माननीयज्यूको कुरा छ,’ उनले भने ।