टी–२० विश्वकप : वेस्ट इन्डिजद्वारा युगान्डा पराजित

आइतबार, २७ जेठ, २०८१
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप– २०२४ मा वेस्ट इन्डिजले युगान्डालाई एक सय ३४ रनले पराजित गर्दै जित हासिल गरेको छ । गुयनाको प्रोविडेन्स रंगशालामा भर्खरै सम्पन्न खेलमा वेस्ट इन्डिजले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमा समेटियो । युगान्डाका लागि जुमा मियागीले अविजित १३ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक रन बनाउन सकेनन् ।

वेस्ट इन्डिजका अकिल हुसैन एक्लैले पाँच विकेट लिए भने अल्जारी जोसेफले दुई विकेट लिए । रोमारियो सेफर्ड, आन्द्रे रसेल र गुडाकेस मोतीले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७३ रनको बनाएको थियो ।  

वेस्ट इन्डिजका लागि जोनसन चारल्सले ४४ रन बनाए भने आन्द्रे रसेलले अविजित ३० रन जोडे । कप्तान रोभमन पावेलले २३, रुदरफोर्ड र निकोलस पुरनले समान २२–२२ रन बनाए । ब्रेन्डन किङले १३ रन जोडे ।

युगान्डाका लागि कप्तान ब्रायन मसाबाले दुई विकेट लिए । त्यस्तै, अल्पेस रामजानी, कोस्मास क्युउटा र दिनेश नकर्नीले समान एक–एक विकेट लिए । यससँगै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको वेस्ट इन्डिजले चार अंक जोेडेको छ । तीन खेलमा स्पर्धा गरेको युगान्डा दुई अंकमा सीमित छ ।     

 

सुझावित समाचार