एन्टिडिप्रेसेन्ट औषधीका सन्दर्भमा औषधीको सेवन गर्ने अत्यधिक चाहना वा सेवन गर्नैपर्ने बाध्यता देखिँदैन
मैले सन् १९९१ देखि डिप्रेसन (अवसाद) का रोगीलाई एन्टिडिप्रेसेन्ट (अवसाद निको पार्ने औषधी) लिनुपर्छ भन्दै आएको छु । अन्य औषधीझैँ एन्टिडिप्रेसेन्ट पनि अचुक औषधी होइन, यसमा पनि ‘साइड इफेक्ट्स’ (दुष्प्रभाव) हुने गर्छन् र सबै बिरामीका लागि यसले काम नगर्न पनि सक्छ । केही बिरामी नकारात्मक प्रभाव परेको गुनासो गर्छन् अथवा डिप्रेसन निको भएन भन्छन् । तिनले अर्को एन्टिडिप्रेसेन्ट औषधी लिनुपर्ने हुन्छ । जसलाई एन्टिडिप्रेसेन्टले मद्दत गर्छ, त्यहाँ यो औषधीले निःसन्देह डिप्रेसनको अवस्थालाई सुधार गर्छ र आत्महत्याको जोखिमलाई घटाउँछ ।
मेरो चिकित्सकीय अभ्यासमा डिप्रेसन निको हुँदा वा सुधार हुँदा औषधी छोड्न सकिएन भनेर गुनासो गर्ने बिरलै देखेको छु । एन्टिडिप्रेसेन्टको सेवन गर्न छाडेको केही दिन वा हप्तासम्म रिंगटा लाग्ने, टाउको दुख्ने, वाकवाकी आउने, अनिद्रा, चिडचिडाहट, जीवन्त सपना, झनझनाहट वा अस्थिर मनोदशालगायत अप्रिय शारीरिक वा भावनात्मक अनुभव हुन सक्छ । तर, यी लक्षणका कारण एन्टिडिप्रेसेन्टको सेवन बन्द नगर्ने कति होलान् ? मेरो ३३ वर्षको चिकित्सकीय अभ्यासका क्रममा यस्ता मानिस औँलामा गन्न सकिने मात्रै होलान् । यसकारण, मलगायत कैयौँ मनोचिकित्सक, मनोरोगसँग सम्बन्धित संस्था र चिकित्सकीय संहिता केही वैज्ञानिक शोधपत्र र मिडिया आलेखमा दोहोरिने ‘१०औँ लाख मानिस एन्टिडिप्रेसेन्टको लतमा परेका छन्’ भन्ने विषयमा सन्देह गर्छन् ।
कुनै वस्तुको अत्यधिक सेवन गर्ने चाहना र बाध्य भई सो वस्तुलाई सेवन गर्न रोक्न नसक्नुलाई ‘लत’ भनिन्छ । उदाहरणका लागि लागुपदार्थको लतलाई लिन सकिन्छ । तर, एन्टिडिप्रेसेन्ट औषधीका सन्दर्भमा सेवन गर्ने अत्यधिक चाहना वा सेवन गर्नैपर्ने बाध्यता देखिँदैन र हाम्रो चिकित्सकीय अनुभवले एकदमै सानो तप्काका रोगीलाई औषधी छोड्दा असहज लक्षण भएको पाइएको छ । यस विषयमा भएको बृहत् अध्ययनले हाम्रो अनुभवलाई पुष्टि गरेको छ । मसमेत सहभागी अध्ययनले पछिल्ला ७९ अध्ययनलाई हेरेको थियो, जसमा १६ हजारभन्दा बढीले एन्टिडिप्रेसेन्टको सेवन बन्द गरेका थिए । यी सहभागीको तुलना ती चार हजारभन्दा बढी व्यक्तिसँग गरिएको थियो, जसले प्लेसेबो (औषधीय परीक्षणका लागि प्रयोग गरिने निष्प्रभावी औषधी) लिन बन्द गरेका थिएनन् । यो अध्ययनमा फार्मास्युटिकल कम्पनी संलग्न थिएनन् । तर, फार्मास्युटिकल कम्पनीले गरेका केही परीक्षण (ट्रायल) तथ्यांकको प्रयोग भने गरिएको थियो ।
एन्टिडिप्रेसेन्टको सेवन रोक्ने र औषधी बिरामको गम्भीर लक्षणको अनुभव गर्ने व्यक्तिको अनुपात एकमा ३० अथवा ३५ हुने गर्छ, जुन एकमा चारको अनुपातको अघिल्लो निष्कर्षको तुलनामा निकै कम हो । चाखलाग्दो के छ भने एन्टिडिप्रेसेन्टको सेवन रोक्ने तीन बिरामीमा एकले सामान्य औषधी विरामको लक्षण व्याहोर्छन्, जबकि निष्प्रभावी औषधीका मामिलामा यो आँकडा ६ मा एक मात्रै छ । यसले केही एन्टिडिप्रेसेन्ट औषधीको सेवन बन्द गर्दा देखिने लक्षण सम्भवतः एन्टिडिप्रेसेन्ट सेवनको रोकको परिणाम नभई डिप्रेसन हुँदाको लक्षण फेरि देखिने हो कि भन्ने अपेक्षाले निम्त्याएको मात्र हो ।
एन्टिडिप्रेसेन्टको सेवन बन्द गर्ने व्यक्तिले लक्षण सिर्जना गर्छन् वा यी लक्षण मनोवैज्ञानिक भ्रम हुन् भन्न खोजिएको होइन । लक्षण वास्तविक नै हुन् । तर, ती लक्षण एन्टिडिप्रेसेन्ट सेवनको रोकले नहुन सक्छ, बरु यी लक्षण एन्टिडिप्रेसेन्ट सेवनको रोकले भएको भन्ने बुझाइले उत्पन्न गराउन सक्छ । त्यसो भए यसअघिका खतरनाक तथ्यांक र यो नयाँ अध्ययनबीचको भिन्नता के हो ? अघिल्ला अध्ययनले कमजोर वैज्ञानिक अनुसन्धान विधिको प्रयोग गर्थे । किनभने, तिनले ‘प्लेसबो’सँगको तुलना समावेश गर्दैनन् वा तिनको अध्ययन खाका यस्तो बन्यो, जसले एन्टिडिप्रेसेन्ट सेवनको रोकले ग्रसित मानिसलाई अध्ययनमा आकर्षित ग¥यो । यसले परिणामलाई पक्षपाती बनायो । उदाहरणका लागि अनलाइन सर्वेक्षणले थोरै असुविधासाथ एन्टिडिप्रेसेन्ट सेवन बन्द गरेकालाई भन्दा एन्टिडिप्रेसेन्ट सेवन गर्दा लक्षण अनुभव गर्नेलाई आकर्षित गर्ने सम्भावना बढी रहन्छ ।
अघिल्लो अनुसन्धान धेरै बलियो नभए पनि एन्टिडिप्रेसेन्ट सेवनको रोकले निम्त्याउने समस्यामा बहस नित्म्याएको थियो, जुन सकारात्मक हो । अहिले नयाँ अध्ययन परिपूर्ण छैन र आगामी दिनमा अध्ययनमा प्रस्तुत तथ्यांक र विश्लेषणको गुणस्तरबारे बहस हुनेछ । यद्यपि यसले महत्वपूर्ण विषयमा उपलब्ध केही उत्कृष्ट अनुसन्धानको प्रतिनिधित्व गर्छ । नतिजा चिकित्सकले बिरामीसँग एन्टिडिप्रेसेन्टबारेको छलफलमा यसको सेवन रोक्दा निम्त्याउने लक्षणको सटिक दरबारे खुलेर छलफल गर्नुपर्छ । र, चिकित्सकले डिप्रेसन भएका बिरामीलाई एन्टिडिप्रेसेन्ट औषधी सेवन गर्ने सल्लाह दिँदा औषधी विरामको गम्भीर लक्षण निकै कम रहेको जानकारी दिनुपर्छ ।
एन्टिडिप्रेसेन्ट (सामान्यतया पहिलोपटक प्रयोग गर्नेका लागि ६ देखि नौ महिना र त्यसपछिका लामो समयसम्म) सेवन गरेको मानिसले आफू स्वस्थ रहेको अनुभव गर्ने व्यक्तिले औषधी बन्द गर्न आफ्ना चिकित्सकसँग परामर्श गर्नुपर्छ । यदि विराम निको भएको ठान्नेले औषधी बन्द गर्न रोज्छन् भने औषधीलाई बिस्तारै दुईदेखि चार महिनाको अवधिमा बन्द गराउनुपर्छ । यो प्रक्रियाका क्रममा अनुभव हुने सबै असहज संवेदना र भावना औषधी विरामका कारण होइन भनेर सम्झाउनुपर्छ । औषधी विरामको गम्भीर लक्षणको सामना गर्न नसक्ने थोरैलाई पुनः एन्टिडिप्रेसेन्ट र औषधी कटौती प्रक्रियालाई लामो बनाउनुपर्छ ।
बिरामीले आफ्नो चिकित्सकसँग सूचित छलफलमार्फत एन्टिडिप्रेसेन्टका मामिलामा विभिन्न निर्णय गर्न सक्छन् । केहीले एन्टिडिप्रेसेन्ट आफ्ना लागि होइन भनेर निर्णय गर्छन् । त्यसैगरी कसैले एन्टिडिप्रेसेन्ट नरोक्ने निर्णय गर्नेछन् । धेरै कारकले यी निर्णयलाई प्रभाव पार्छन् । तर, कम्तीमा अहिले एन्टिडिप्रेसेन्टको लत लाग्छ भन्ने कारणले औषधीको प्रयोग वा रोकलाई निर्धारण गर्नेछैन ।
(प्यारिएन्टे किंग्स कलेज लन्डनका जैविक मनोचिकित्साका प्राध्यापक हुन्)
द गार्डियनबाट