व्यवसायीहरूले सुनको आयातमा गरिएको भन्सार वृद्धिको निर्णय खारेज गर्न सरकारसँग आग्रह गरेका छन् । सुन–चाँदी व्यवसायमा तीनवटा प्रतिनिधिमूलक संस्थाले बजेटमार्फत गरिएको सुनको भन्सार वृद्धि फिर्ता गर्न सरकारलाई आग्रह गरेका हुन् ।
सरकारले आव ०८१/८२ को भन्सार विधेयकमार्फत सुनको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत कायम गरेको छ । व्यवसायीले यसको विरोध गर्दै आएका छन् । नेपाल सुन–चाँदी व्यवसायी महासंघ, नेपाल सुन–चाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला संघको संयुक्त टोलीले शुक्रबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गरी उक्त भन्सार वृद्धि गर्ने निर्णय खारेज गर्न आग्रह गरेका हुन् ।
भेटका क्रममा नेपाल सुन–चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मुलुकभरका सुनुचाँदी पेसा–व्यवसाय मात्रै नभई परम्परा एवं धर्मसंस्कृतिसँग समेत जोडिएको सुनमा निरन्तर रूपमा भन्सार दर वृद्धि भएकोमा तीनवटै महासंघको गम्भीर ध्यानाकर्षण भएको बताए । गत वर्ष पनि सरकारले भन्सार महसुल विधेयक २०८० मार्फत सुनको आयातमा लाग्ने भन्सार महसुल वृद्धि गरेको थियो ।
नेपाल सुन–चाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसन सुनारले झिटी–गुन्टाअन्तर्गत पैठारी हुने सुनको सीमा बढाइने अपेक्षा गरिएकोमा आर्थिक वर्ष ०८१/८२ को बजेटमा झनै संकुचित पारिएको गुनासो गरे ।
उनले सोको सीमा बढाई भन्सार छुटको सीमा ५० ग्राम र सोभन्दा बढीमा विदेशी मुद्राको स्रोत खुलाई प्रचलित भन्सार बुझाई तीन सय ग्रामसम्म ल्याउन पाउने व्यवस्था गरिनुपर्ने बताए ।अर्थमन्त्री पुनले व्यवसायीको मागलाई आफूले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै समस्या परेको भए समाधानका लागि पहल गर्ने बताए ।