सुर्खेतमा २५ र २६ गते श्रमाधान मेला हुने

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

सुर्खेतमा शुक्रबारदेखि दुईदिने श्रमाधान रोजगार मेला हुने भएको छ। नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सातवटै प्रदेशमा मेला आयोजना गरिएको हो।

जसअन्तर्गत सुर्खेतमा शुक्रबार र शनिबार मेला सञ्चालन हुने भएको छ। प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरको सिटी हलमा उक्त मेला सञ्चालन हुनेछ।

रोजगारदाता र रोजगारी खोजिरहेको व्यक्तिहरूबीचको भेटघाट गराउने मेलाको मुख्य उद्देश्य रहेको जनाइएको छ। रोजगारीका अवसर सिर्जना गर्नु, सीप विकास प्रवर्द्धन गर्नु, उद्यमशीलतालाई प्रोत्साहन गर्नु, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्नु, युवा सशक्तीकरण गर्नु र सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्नु मेलाको उद्देश्य रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव टीकाराम ढकालले बताए।

‘कर्णालीमा ४० वटा रोजगारदाताहरूको स्टल रहनेछन्,’ उनले भने, ‘त्यसका लागि बिहीबारसम्म ३४ वटा स्टल बुकिङ भइसकेका छन्।’ तीमध्ये लोकसेवा आयोग, श्रम रोजगार कार्यालयलगायतका सरकारी निकायहरूको रोजगारसम्बद्ध आठवटा संस्थाहरूको स्टल रहने उपसचिव  ढकालले बताए।

तीन तहका सरकारबीचको समन्वयमा श्रमाधान मेला आयोजना भइरहेको कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत चेतनकुमार खत्रीले बताए।

निजी व्यावसायिक कम्पनीहरूले रोजगारीका लागि दक्ष कामदार छनोट गर्न सक्नेछन्। कम्पनीहरूले आफूलाई आवश्यक कामदारबारे अवलोकनकर्तालाई जानकारी गराउनेछन् भने केहीले स्टलबाटै कामदार छनोटसमेत गर्न सक्ने मेलाको अभियान रहेको छ।

मेलामा सहभागिताका लागि अनलाइन फाराम भर्ने व्यवस्थासमेत गरिएको थियो। त्यसका आधारमा सुर्खेतमा हुने मेलाका लागि बुधबार साँझसम्म चार सयभन्दा बढीले आवेदन गरेको उपसचिव ढकालले बताए।

सुझावित समाचार