नवौँ महिला राष्ट्रिय चेस प्रतियोगितामा पूर्वनेपाल च्याम्पियन सिन्दिरा जोशी ८ अंक बनाउँदै ९ देखि २३ सेप्टेम्बरसम्म हंगेरीको बुढापेस्टमा आयोजना हुने ४५औँ चेस ओलम्पियाड खेलमा छनोट भएकी छिन् । नेपाल बुद्धिचाल महासंघले ४५औँ चेस ओलम्पियाडका लागि पाँच खेलाडी पठाउनेछ । जसमा शीर्ष खेलाडी, निवर्तमान नेपाल च्याम्पियन र राष्ट्रिय प्रतियोगितामा पहिलोदेखि तेस्रो स्थानमा रहने खेलाडीले प्रतिपस्र्धा गर्ने संघले जनाएको छ ।
महिलातर्फ निवर्तमान नेपाल च्याम्पियन र शीर्ष रेटेड खेलाडी सुजना लोहनी भएकाले नवौँ राष्ट्रिय प्रतिस्पर्धाबाट चार महिला महिला खेलाडी छनोट हुनेछन् । सिन्दिरासँगै ओलम्पियाडमा सहभागी हुने होडमा रहेकी शान्ति धिमाल ७ अंकका सथा दोस्रो स्थानमा छिन् । पूजा भण्डारी र कृतिसरा अधिकारी समान ६.५ अंक बटुलेर तेस्रो स्थानमा रहेका छन् । बिहीबार हुने अन्तिम चरण खेलबाट ओलम्पियाडका लागि बाँकी खेलाडी छनोट हुनेछन् ।
झापाका राजन अगाडि
२४औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पुरुषतर्फ १९५९ रेटेड झापाका राजन सुवेदी ६ मा जित र एक खेलमा बराबर खेल्दै नेपाल च्याम्पियनतर्फ अग्रसर भएका छन् । उनी शीर्ष स्थानमा छन् । १९६१ रेटेड एआइएम शुश्रुत दहाल, २११२ रेटेड पुरुषोत्तम सिलवाल र २०८५ रेटेड एफएम क्षितिज भण्डारी समान ६ अंकका साथ तेस्रो स्थानमा छन् ।
ओलम्पियाडमा उत्कृष्ट फिडे रेटेड विवेक थिङ र निवर्तमान नेपाल च्याम्पियन रूपेश जैसवालको नाम पक्का गरेका छन् । राष्ट्रिय प्रतियोगिताको विजेता, उपविजेता तथा तेस्रो स्थानमा रहने खेलाडी ओलम्पियाडमा छनोट हुनेछन् ।