जनताकाे समस्या र सुनासो सुन्न स्थानीयको घरघरमा दैनिक ५० जना नगर प्रहरी खटिने
ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घरघरमा नगर प्रहरी’ अभियान सुरु गरेको छ । नगरवासीका समस्या र गुनासो सुन्न नगर प्रहरी स्थानीयवासीको घरघरमै पठाउने उद्देश्यले यस्तो अभियान थालिएको हो । नगरवासीका समस्या पहिचान गर्न, नगर प्रहरी र सुरक्षाको अनुभूति गराउन, जनताले कर तिरे–नतिरेको बुझ्न, महानगरको सेवाको पहुँच बुझ्न यस अभियानले मद्दत पुर्याउने महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए।
बिहीबार बिहान अभियानको उद्घाटन गर्दै मेयर महर्जनले नगर प्रहरी २४सै घण्टा नगरवासीको सेवामा समर्पित रहेको बताउँदै नगर प्रहरी र नगरपालिकाको सेवा व्यापक बनाउने बताए । ‘घरघरमा नगर प्रहरी पठाउनुका कारण धेरै छन्, नगरवासीले मेरैबारेमा गरेका गुनासा सम्बोधन गर्छु,’ उनले भने, ‘यो अभियानले स्थानीवासीसँग नगरपालिकाबीचको दूरी कम गर्नेछ, हामीलाई स्थानीयको समस्या थाहा हुनेछ ।’
घरघरमा पुगेर संकलन गरिएका गुनासा र समस्याबारे नगर प्रहरीले हरेक साता मेयर महर्जनलाई जानकारी गराउनेछ । यस अभियानमा दैनिक ५० जना नगर प्रहरी खटिनेछन् । तीमध्ये समूह–समूह बनाएर घरघरमा नगर प्रहरी पठाइनेछ । एउटा समूहमा पाँचजना नगर प्रहरी रहनेछन् । यसो गर्दा दैनिक तीन हजारभन्दा बढी घरमा नगर प्रहरी पुग्नेछ । नगर प्रहरीले नगरपालिकाका सेवाहरू नगरवासीले लिए–नलिएको बुझ्नेछ भने निःशुल्क दमकल, ढल निकास, शववाहन, फुटपाथलगायत सेवाबारे जानकारी गराउनेछ ।
अभियानको उद्घाटन कार्यक्रममा बोल्दै ललितपुरका प्रहरी प्रमुख शेखर खनालले नगर प्रहरीसँग हातेमालो गरेर काम गर्दा सहज भएको बताए । उनले नगर प्रहरी सक्रिय भएसँगै नेपाल प्रहरीले पनि हातेमालो गरेर नगरवासीको सेवामा खटिएको बताए । यसबाहेक हाल नगरपालिकाले वातावरण प्रहरी गठन गरेको छ । सो टोलीले वातावरण जोगाउन काम गर्नेछ भने कालो धुवाँ फ्याँक्ने थोत्रा सवारीसाधनलाई कारबाही गर्नेछ । यो अभियान १ महिनासम्म रहने नगर प्रहरी प्रमुख सीताराम हाछेथूले बताए । यो अवधिमा सबैको घरघरमा र पसलपसलमा नगर प्रहरी पुग्ने उनले बताए ।