भारतको निर्वाचन परिणाम कस्तो आयो ?
भारतका अहिलेसम्मका १४ जना प्रधानमन्त्रीमध्ये जवाहरलाल नेहरू मात्रै लगातार तेस्रोपटक प्रधानमन्त्री निर्वाचित भएका थिए । प्रजातन्त्रमा यस्तो दुर्लभ जनसमर्थन नरेन्द्र मोदीलाई प्राप्त भएको छ । यसका साथै विगत दश वर्षमा लगातार बढिरहेको मोदीको राजनीतिक उचाइ र अभिमानले बहुमतका लागि सहयोगी दलमा भर पर्नुपर्ने बाध्यतामा ठेस पनि खाएको छ । नरेन्द्र मोदीले प्रतीकात्मक मान्यताको कुनामा राखेको राष्ट्रिय स्वयंसेवक संघको हैसियत अब फेरि निर्णायक अभिभावकीय हुनेछ । पछिल्ला दश वर्षमा नभोगेको चुनौती बलियो प्रतिपक्षबाट आउने मात्र होइन, भाजपाकै असन्तुष्ट आवाज डा. हेड्गेवर भवन नागपुरमा घन्किन थाल्नेछ ।
यो निर्वाचन परिणामको गुणात्मक पक्ष के हो ?
भारतीय राजनीतिमा कम्युनिस्टहरू अप्रासंगिक भएका छन् । भाजपा सरकारले निरन्तरता पाएको छ । बिल्कुलै भिन्न सिद्धान्त र प्रशिक्षण भएको कंग्रेस दश वर्षपछि मान्यता प्राप्त प्रतिपक्षको हैसियतमा संसद्मा उभिएको छ । सारांशमा, भारतले अनुभवी प्रधानमन्त्री र दुई ऊर्जावान् तर अपरिक्षित युवा नेता पाएको छ । सत्ता र प्रतिपक्ष दुवैलाई मतदाताले संसदीय अंकगणितको अंकुश लगाएको छ । यसले प्रजातन्त्रको सुरक्षा गर्न, प्रगतिको गतिलाई निरन्तरता दिँदै भविष्यको विकल्प तयार पार्न भारतीय मतदाता सचेत र सक्षम छन् भन्ने बताएको छ ।
भारतसँगको सम्बन्धमा सुझाव के छ ?
नेपाल नीतिलगायत वैदेशिक मामिलामा प्रधानमन्त्री मोदीको सक्रिय रुचि र निर्णायक हैसियत कायम रहन्छ । इतिहासले छाडेका र थपेका विवाद सुल्झाउन पछिल्ला दश वर्षको सदुपयोग हुन सकेन । यसरी अलमलिएर बस्नु नेपाल भारत दुवैका लागि अहितकर हुन्छ । नेपालले टेबुलमा बस्दा आफ्नो चाहना भन्न सक्नुपर्छ । कोठामा साखुल्ले हुने तर सडकमा उफ्रिने बानी छाड्नुपर्छ । आफ्नो अडानको ठोस आधार राख्न नसक्ने कमजोरी हटाउनुपर्छ । भुत्ते बनाउँदै लगेको कूटनीतिक सीपलाई फेरि प्रभावशाली बनाउन नेपालले छिमेकीहरूसँगको सम्बन्धलाई सत्ता राजनीतिबाट मुक्त राख्नुपर्छ ।