चिकित्सक, स्टाफ नर्ससहितका कर्मचारीलाई एकैपटक निकालिएपछि नारायणी अस्पताल विकास समितिले असन्तुष्टि जनाएको छ । सोमबार अस्पतालका निमित प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. एमानुल हकले चिकित्सक, स्टाफ नर्ससहित एकैपटक ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई हटाएपछि विकाश समितिले असन्तुष्टि जनाएको हो ।
विपन्न वर्गले उपचार गराउँदै आएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टले मनोमानी तरिकाले आफूखुसी सूचना जारी गरेर कर्मचारी हटाएको अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले बताए । करार अवधि सकिएका कर्मचारी हटाउँदा विकास समितिसँग प्रशासनले कुनै छलफल वा जानकारी नदिएको उनको भनाइ छ ।
अस्पतालमा अहिले डेन्टल एक्सरेसहितका विभिन्न वार्डमा कर्मचारी अभाव भएकाले सेवा प्रवाहमा समस्या भएकाले त्यसको जिम्मेवारी मेडिकल सुपरिटेन्डेन्ट हकले लिनुपर्ने गुप्ताले बताए । निमित्त मेडिकल सुपरिटेन्डेन्ट हकको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा लामो समयदेखि दरबन्दीबेगर दैनिक ज्यालादारीमा कार्यरत ४७ जना स्वाथ्यकर्मी र कर्मचारीलााई हटाउने निर्णय गरेको सूचनामा उल्लेख छ ।
अस्पतालबाट हटाइएकोमा आठौँ तहका मेडिकल अधिकृत चिकित्सक ११, सातौँ तहका मेडिकल अधिकृत एक, स्टाफ नर्स १२, हेल्थ असिस्टेन्ट तीन, रेडियोग्राफर पाँच, अहेव चार र कार्यालय सहयोगी सात गरी ४३ जना छन् । दैनिक ज्यालादारीमा कामकाज गरिरहेका ४७ स्वास्थ्यकर्मी र कर्मचारीको २२ जेठदेखि सेवा अवधि समाप्त भएको सूचना अधिकारी सुनीलकुमार रौनियारले जानकारी दिए ।