संखुवासभामा विपतसम्बन्धी अभ्यास

मंगलबार, २२ जेठ, २०८१
डिजिटल संस्करण

संखुवासभाको सदरमुकाम खाँदबारीको टुँडीखेलमा सोमबार बिहान अचानक मानिसहरू भागदौड गर्दै हारगुहार मागिरहेका दृश्यहरू देखिए । कोही घाइते भएर एम्बुलेन्समा उपचार गर्न लगिँदै थियो भने कतै दमकलले आगो निभाउँदै थियो ।  झट्ट हेर्दा मानिसहरू के भएछ भनेर अन्योलमा परे पनि वास्तवमा मनसुन अर्थात् बर्खा नजिँकैदै गर्दा प्राकृतिक प्रकोपबाट हुने जोखिमको पूर्वतयारीबारे आममानिसलाई जानकारी दिइएको हो । 

खाँदबारीको मेलमिलाप बस्तीको खुसियाली खाजाघरमा केही युवा मादकपदार्थ सेवन गर्ने क्रममा झगडा हुँदा फुसको छानो भएको घर आगलागी हुन्छ । घर आगलागी भएपछि धेरै मानिस घाइते हुन्छन् । उनीहरूको स्थानीय र प्रहरीद्वारा उद्धार गरी जिल्ला अस्पतालमा उपचारका लागि पुर्याइन्छ । रेडक्रसले आपतकालीन राहत वितरण, प्रमुख जिल्ला अधिकारी र विपत् व्यवस्थापन समितिका टोलीद्वारा स्थलगत अध्ययन, मुचुल्का तयारलगायतका काम गरिन्छन्।

यी माथि उल्लेखित घटना वास्तविक भने होइनन् । यो जिल्ला विपत् व्यवस्थापन समितिको आयोजनामा साँच्चिकै प्राकृतिक विपत् आइपर्दा कसरी सतर्क रहने भनेर विपत् कृत्रिम घटना अभ्यास गरी देखाइएको थियो । कृत्रिम घटना भए पनि त्यहाँ घटनामा साँच्चिकै साना–साना फुसको छानो भएको घरहरू निर्माण गरिएका थिए । होटेल र बस्ती बनाइएको थियो । उद्धार टोलीमा प्रहरी र सेना तयारी थिए, एम्बुलेन्स र दमकल तयारी थिए । अस्पतालमा स्वास्थ्यकर्मी र सम्बन्धित निकायका पदाधिकारीहरू थिए । कृत्रिम घटना भए पनि साँच्चिकै जस्तै बनाइएको थियो । 

जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काको अध्यक्षतामा भएको सो कृत्रिम घटनाको तयारी खाँदबारीको नयाँ भैरवी गुल्मले आयोजना गरेको थियो । तर, सो कार्यक्रममा खाँदबारी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, जिल्ला समन्वय समिति, जिल्ला अस्पताल, उद्योग वाणिज्य संघ, सेना, सशस्त्र र प्रहरीलगायतको भूमिका सम्बन्धित सबै कार्यालय आफैँले निभाएका थिए । 

यस्ता कृत्रिम घटनाले समाजमा साँच्चिकै विपत् आइपरेको समयमा कसरी बच्ने र सतर्क रहने भन्ने विषयमा स्थानीयलाई देखाइन्छ। सो प्रदर्शन हेर्न निकै मानिस भेला भएका थिए। खाँदबारीनजिकैका विद्यालयका विद्यार्थी, स्काउट, राष्ट्रिय सेवा दलका विद्यार्थीको उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्राकृतिक विपत्तिबाट हुन सक्ने जोखिमबारे सबै पूर्वतयारीमा जुट्नुपर्ने खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले जोड दिए । उनले विपत् कति वेला हुन्छ भन्ने यकिन नहुने भएकाले सबै चनाखो हुनुपर्ने बताउँदै संखुवासभाको उत्तरी भागका तिब्बतीयन प्लेट र ठूला आयोजना अरुण तेस्रोको नै बाँध कुनै बखत फुटेमा खाँदबारी नगरपालिकालगायत जिल्ला नै तहसनहस बनाउने भएकाले सचेत बन्नुपर्नेमा आग्रह गरे । 

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले विपत्तिका घटनाहरू जतिवेला जहाँसुकै घट्न सक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरे । उनले खाँदबारी बजार क्षेत्रमा बाक्लो घरहरू रहेको र कुनै बखत आगलागीका घटनाहरू भए सबै जोखिममा पर्ने बताउँदै संखुवासभा उद्योग वाणिज्य संघले घर–घरमा आगो निभाउने उपकरण राख्नुपर्नेमा जोड दिए । 
जिल्ला विपत् व्यवस्थापन समितिले बर्सेनि यस्ता कृत्रिम घटना प्रदर्शन गर्ने गरेका छन् । यसले आमनागरिकमा केही ज्ञान हासिल हुने र सचेत हुने आशा गरेर नै प्रदर्शन गर्ने गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए। 

उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय संखुवासभाको आयोजना तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, खाँदबारी नगरपालिका, रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, नेपाल स्काउट, राष्ट्रिय सेवा दललगायत अन्य सरोकारवाला निकायहरूसमेतको सहकार्यमा आगलागी र पहिरोको समयमा हुन सक्ने जोखिम न्यूनीकरण तथा उद्धारसम्बन्धी संयुक्त अभ्यास सम्पन्न गरिएको हो ।
 

सुझावित समाचार