दिक्तेल रूपाकोट मझुवाढी नगरपालिका– १२ जालपामा आयोजित खुला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि ओखलढुंगाको चिशंखुगढी गाउँपालिका– १ कुइभिरले जितेको छ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र वडा कार्यालय जालपाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा रावाबेँसी गाउँपालिका– १ कुभिण्डेलाई हराउँदै कुइभिरले उपाधि जितेको हो।
फाइनल खेलमा कुइभिरले २५–१९, २६–२४ र २५–१७ मा कुभिण्डेलाई हराएको आयोजकले जनाएको छ। उपाधि विजेता कुइभिरले नगद रु. ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको वडाध्यक्ष दानबहादुर राईले जानकारी दिए।
प्रतियोगिताको दोस्रो स्थानमा चित्त बुझाएको रावाबेँसी गाउँपालिका– १ कुभिण्डेले नगद रु. ३० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। विभिन्न जिल्लाका १९ वडाले सहभागिता जनाएको प्रतियोगितामा ऐँसेलुखर्क गाउँपालिका– ५ महेश्वरी तेस्रो भएसँगै नगद रु. २० हजार प्राप्त गरेको छ।
ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
जालपामा सम्पन्न पुरुषतर्फको खुला डबल ब्याडमिन्टन प्रतियोगितामा दिक्तेलका पुजन आचार्य र सञ्जय कार्की पहिलो भएका छन्। प्रतियोगितामा दिक्तेलका समीर बजिमय र विकास खत्री दोस्रो तथा जालपाका युनिसन राई र रमेश श्रेष्ठ तेस्रो भए।
त्यस्तै, महिलातर्फको डबल ब्याडमिन्टन प्रतियोगितामा दिक्तेलका रेणुका राई र ममता राई पहिलो, जालपाका अनिता श्रेष्ठ र वर्षा गुरुङ दोस्रो तथा दिक्तेलका कल्पना जोशी राई र स्मिता राई तेस्रो भएका छन्।
पुरुषतर्फको डबल भेट्रानमा दिक्तेलका राजु श्रेष्ठ र समीर बजिमय पहिलो, जालपाका गोपाल गुरुङ र ज्ञानबहादुर श्रेष्ठ दोस्रो र दिक्तेलका मनविक्रम राई र हरि खत्री तेस्रो भए।
१५ वर्षमुनिका पुरुषतर्फको ब्याडमिन्टन प्रतियोगितामा केपिलासगढी गाउँपालिका– ४ का ग्याल्जेन तामाङ र आशिष राई पहिलो हुँदा दिक्तेलका संयोग धमला र विवेक आचार्य दोस्रो तथा दिक्तेलकै योजन दाहाल र अनिशान्त दंगाल तेस्रो भए।
खुला महिला–पुरुष दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद रु. २० हजार, १५ हजार र १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। भेट्रानतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद रु. १२ हजार, १० हजार, आठ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
त्यस्तै, पन्ध्र वर्षमुनिका पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद रु. आठ हजार, पाँच हजार र तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। विजयी खेलाडीलाई प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टंक राईले पुरस्कार वितरण गरेका थिए।