पुलिस र गण्डकीको लगातार दोस्रो जित

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण
पुलिस र गण्डकीको लगातार दोस्रो जित

न्यु डायमन्डविरुद्ध स्पाइक प्रहार गर्दै नेपाल पुलिस क्लबकी उषा भण्डारी (रातो) । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

विभागीय टोली नेपाल पुलिस क्लबको महिला र पुरुष तथा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा लगातार दोस्रो जित निकालेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा गण्डकीले सुदूरपश्चिम प्रदेशविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्यो । हिमाल सुनार, सुजन चोखाल, रवि केसी र हरि पाण्डे सम्मिलित गण्डकीले खेल २५–२२, २५ –२२ र २५–१८ ले आफ्नो पक्षमा पारेको हो । लगातार दोस्रो जितसँगै गण्डकीले तीन खेलमा ६ अंक जोडेको छ । दुवै खेलमा पराजित सुदूरपश्चिम अंकविहीन छ । पहिलो खेलमा गण्डकीले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–१ को सेटमा हराएको थियो । 

प्रतियोगितामा एपिएफले लगातार दोस्रो हार बेहोरेको छ । दोस्रो दिन भएको खेलमा एपिएफ अर्काे विभागीय टोली नेपाल पुलिससँग ३–२ को सेटमा हा¥यो । लोकेन्द्र गिरी, हेमन्त मल्ल, विजय थापामगर र टेकराज अवस्थी सम्मिलित एपिएफ युवा खेलाडीले भरिएको पुलिसविरुद्ध निरीह बनेको हो । पहल गहतराज, रविन चन्द, एम राना, सफल विक, भीम गाहा, रविन नगरकोटीलगायतको पुलिसले खेल २१–२५, २५–२३, १४–२५, २५–२१ र १५–१३ ले जितेको हो । पुलिसले लगातार दुई खेलबाट ६ अंक जोड्दा एपिएफले १ अंकसहित खाता खोलेको हो । 

पुरुषतर्फको खेलमा हेल्प नेपालले विजयी सुरुवात गरेको छ । कोशी प्रदेशविरुद्ध हेल्प नेपालले सोझो सेटमा जित निकालेको हो । अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बुढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । प्रतियोगितामा आर्मीले दुई खेलबाट ६ तथा हेल्प नेपालले एक खेलबाट ३ अंक जोडेको छ । 

एभरेस्टको विजयी सुरुवात 
तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी समावेश गरेको एभरेस्ट भलिबल क्लबले प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एभरेस्टले कर्णाली प्रदेशलाई सोझो सेटमा हराएको हो । नेपाल राष्ट्रिय भलिबल टोलीकी कप्तानसमेत रहेकी अरुणा शाहीको साथ पाएको एभरेस्टले खेल २५–१६, २५–८ र २५–१० ले जित्यो । अर्काे खेलमा पुलिसले न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३–१ ले हरायो । दोस्रो दिनपछि कप्तान प्रतिभा माली कोर्टबाहिर रहँदा न्यु डायमन्ड निरीह बनेको छ । उसले लगातार दोस्रो हार बेहो¥यो । पहिलो खेलमा एपिएफसँग ३–२ को सेटमा पराजित भएको थियो । पुलिसले भने पहिलो खेलमा आर्मीलाई ३–२ कै सेटमा हरायो । 
 

सुझावित समाचार