संविधानले महान्यायाधिवक्तालाई सर्वोच्च अदालतको न्यायाधीशसरह मानेको छ । सर्वोच्चको न्यायाधीश हुने योग्यता भएका व्यक्ति मात्र महान्यायाधिवक्ताको पदमा रहने कारण दुवैले पाउने सेवा–सुविधा पनि उस्तै हुन्छ । तर, पछिल्लो समय महान्यायाधिवक्ताको कार्यालयले गरेका केही निर्णय भने विवादमा तानिएका छन् ।
कानुनमा रहेका छिद्र खोजेर सत्तासीन दल, नेता र सरकारलाई अनुकूल हुने गरी भएका कतिपय निर्णयलाई लिएर महान्यायाधिवक्ताको कार्यालयको आलोचनासमेत हुन थालेको छ । यसै विषयमा सर्वोच्च अदालतमा रिटसमेत परेकोमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊ आदेश जारी गर्दै आइतबार अग्राधिकार दिएको छ । अन्तरिम आदेश दिने–नदिने सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई २८ जेठमा डाकिएको छ । अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमाथि आदेश गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि परेको जाहेरी कास्की प्रहरीबाट मगाउनसमेत आदेश गरेको छ ।
महान्यायाधिवक्ताको कार्यालयबाट भएको निर्णयले पीडितले न्यायको याचना गर्न पाउने प्राकृतिक न्यायको सिद्धान्तको बर्खिलाप गई निर्णय गरेको भन्दै आफूमा हुँदै नभएको अधिकार प्रयोग गरी निर्णय गर्ने गरेको दाबी निवेदक भट्टराईको रिटमा छ । रिटमा लामिछानेलाई महान्यायाधिवक्ताको कार्यालयले गत २४ वैशाखमा दिएको जानकारीबारेको पत्र बदर हुनुपर्ने माग गरिएको छ । कार्यालयले अभियोजनको जानकारी भन्दै लामिछानेलाई पत्र पठाएको थियो । लामिछानेउपर हालसम्म कुनै उजुरी÷जाहेरी नपरेको र अनुसन्धान तथा अभियोजनसमेत नभएको भन्दै सहायक न्यायाधिवक्ता अनुकूल बारकोटीको हस्ताक्षरसहित उक्त कार्यालयले लामिछानेलाई जवाफी पत्र पठाएको थियो ।
तर, उक्त पत्रको कुनै कानुनी आधार नभएको तथा उक्त पत्रका कारण सहकारीमा रहेका बचतकर्ताको न्याय प्राप्त गर्ने आधार संकुचित भएको भट्टराईको रिटमा दाबी गरिएको छ । आफूलाई प्राप्त अधिकारका आधारमा महान्यायाधिवक्ताको कार्यालयले राजनीतिक स्वार्थका आधारमा निर्णय लिँदै आएको दाबी अधिवक्ता भट्टराईको रिटमा गरिएको छ । ‘अपराध अनुसन्धान गर्नुपर्ने निकायलाई दबाब दिन, धम्क्याउन र मुख्य कुरा सरकार टिकाउने कुरालाई बार्गेनिङ गर्नका लागि आफ्ना व्यक्तिगत स्वार्थलाई अनर्गल र अनवरत रूपमा मलजल गर्न रवि लामिछानेले राज्यको स्रोत–साधन, निकायको प्रयोग गरेको र हालसम्म व्यवहारमा नरहेको कुरा अर्थात् तपाईंविरुद्ध मुद्दा चलेको छैन भनेर क्लिन चिट लिएका छन्,’ निवेदकले रिटमा भनेका छन् ।
संविधानको भाग १२ मा महान्यायाधिवक्ताबारे उल्लेख छ । जसमा सर्वोच्चको न्यायाधीश हुने योग्यता भएका कानुन व्यवसायीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । उनले नेपाल सरकार वादी वा प्रतिवादी भई दायर मुद्दामा प्रतिरक्षा गर्छ । साथै, महान्यायाधिवक्ताले संघीय संसद्लाई समेत कानुनी राय दिने गर्छ । तर, मुद्दा चलाउने वा नचलाउने विषयमा विवेकसम्मत र कानुनसम्मत निर्णय गर्नुपर्ने निकाय पछिल्लो समय सत्ताको लाभका लागि प्रयोग भइरहेको विश्लेषण कानुन वृत्तमा छ ।
महान्यायाधिवक्ताको कार्यालय भने आफूले गरेका निर्णय संविधान र कानुनसम्मत हुने बताउँछ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता तथा सहन्यायाधिवक्ता सूर्यराज दाहालले आफूहरूको पत्रका कारण लामिछानेमाथि अनुसन्धान र अभियोजन हुन रोक्ने भन्ने नहुने बताए । ‘उहाँले गृहमन्त्री होइन, व्यक्तिगत हैसियतमा मउपर मुद्दा छ कि छैन भनेर निवेदन दिनुभएकाले हामीले तीन जिल्लाका सरकारी वकिललाई सोध्यौँ । उहाँहरूले प्रहरीलाई सोधेपछि त्यसैको जवाफ लेखेका हौँ,’ उनले भने ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार प्रत्येक सरकारी वकिललाई मुद्दा नचलाउने निर्णय गर्ने अधिकार दिइएको छ । तर, अन्तिम निर्णय भने महान्यायाधिवक्ताले गर्ने व्यवस्था छ । ‘कुनै कसुरका सम्बन्धमा कुनै व्यक्तिका विरुद्ध मुद्दा चलाउन तत्काल संकलित सबुत प्रमाण पर्याप्त नभएमा’ सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गर्न सक्छ । यद्यपि, त्यस्तो कसुरमा ‘कुनै व्यक्तिको निजी सम्पत्ति वा बिगोे हानि–नोक्सानीसम्बन्धी देवानी दायित्वका विषयसमेत समावेश भएको रहेछ भने सरकारी वकिलले सोको सूचना जाहेरवाला वा त्यस्तो कसुरबाट पीडित व्यक्तिलाई सम्बन्धित अनुसन्धान अधिकारीमार्फत दिनुपर्ने’ प्रावधान छ ।
मन्त्री लामिछानेकै हकमा यसअघि महान्यायाधिवक्ताको कार्यालयले दोहोरो नागरिकता र राहदानीमा मुद्दा नचलाउने निर्णय गरिसकेको छ । राहदानी दुरुपयोग गरेको भन्ने विषयमा ०७९ चैतमा उक्त कार्यालयबाट मुद्दा नचलाउने निर्णय भएको छ । पछिल्लो समय अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध कर्तव्य ज्यान मुद्दा नचल्ने निर्णयसमेत सरकारी वकिलबाट हुँदै महान्यायाधिवक्ता कार्यालयसम्म पुगेको छ । माओवादीनिकट नेतृ सिंहसमेत चारजनालाई मुद्दा नचलाउने निर्णय भएको छ ।
यसअघि तत्कालीन एमाले सांसद नवराज सिलवालविरुद्ध किर्ते कसुरमा मुद्दा नचलाउने निर्णय भएको थियो । सर्वोच्च अदालतले कार्यसम्पादन मूल्यांकन फारमको अंक र लोकसेवा आयोगलगायत निकायका कासमू फरक देखिएको भन्दै यसमा कसको संलग्नता रहेको भनी अनुसन्धान गरी कारबाही गर्न आदेश गरेको थियो ।
गोप्य रहने कासमू फारामको अंक फरक पार्ने कार्यमा संलग्नलाई कारबाही गर्न सम्बन्धित निकायलाई लेखी पठाउने आदेश भएकोमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । त्यसअघि तत्कालीन महान्यायाधिवक्ताको कार्यालयबाट काशी तिवारी हत्या प्रकरणमा तत्कालीन भूमिसुधारमन्त्री प्रभु साहलाई मुद्दा नचलाउने निर्णय भएको थियो । प्रमाण नपुगेको, उजुरीसमेत नपरेकोजस्ता आधार लिई उनीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको थियो ।
महान्यायाधिवक्ताबाट पछिल्लो दशकमा भएका निर्णयबाट सरकारी वकिल र न्यायवृत्त पनि खुसी छैन । महान्यायाधिवक्ताको कार्यालयका एक अधिकारी भन्छन्, ‘पछिल्लो १०–१२ वर्षमा यस्तो हुन थालेको हो । केही केसले गर्दा कानुनवृत्तमा महान्यायाधिवक्ताको साख घटेको छ ।’ आर्थिक वर्ष ०७९/८० मा महान्यायाधिवक्ताको कार्यालयबाट दुई हजार ६ सय ३७ वटा मुद्दा नचलाउने निर्णय भएका छन् । ती मुद्दामा दुई हजार ७ सय ६६ प्रतिवादी रहेको उक्त कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
पूर्वन्यायाधीश बलराम केसी तत्कालीन महान्यायाधिवक्तालाई दबाब आए पनि विवादास्पद र आफूलाई प्राप्त अधिकारको दुरुपयोग हुने गरी निर्णय नहुने गरेको बताउँछन् । ‘मोतीकाजी स्थापित, रामानन्दप्रसाद सिंह, बद्रीबहादुर कार्की, कृष्णप्रसाद घिमिरेजस्ता राम्रा महान्यायाधिवक्ता पनि हुनुहुन्छ । उहाँहरूलाई दबाब नआउने होइन, तर मुद्दा चलाउने–नचलाउने विषयमा प्रमाण हेरेर निर्णय हुन्छ भन्नुहुन्थ्यो,’ उनले भने ।
यी निर्णय विवादमा ?
गृहमन्त्री रवि लामिछाने : सहकारी र दोहोरो राहदानी प्रकरण
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह ः कर्तव्य ज्यान मुद्दा
आजपा अध्यक्ष प्रभु साह : काशी तिवारी हत्या प्रकरण
पूर्वसांसद नवराज सिलवाल : किर्ते कसुर
कास्की प्रहरीबाट गृहमन्त्री लामिछानेविरुद्धको जाहेरी झिकाउन सर्वोच्चको आदेश
महान्यायाधिवक्ताको कार्यालयले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै उजुरी तथा जाहेरी नरहेको पत्र दिएको झन्डै एक महिनापछि सर्वोच्च अदालतले उनीविरुद्ध परेको भनिएको जाहेरी झिकाउन आदेश दिएको छ । अधिवक्ता अनुपम भट्टराईले १४ वैशाखमा दायर गरेको उत्प्रेषणको रिटलाई अग्राधिकार दिँदै कास्की प्रहरीबाट गृहमन्त्री लामिछानेविरुद्ध परेको भनिएको जाहेरी/उजुरी झिकाउन आइतबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आदेश दिएको हो ।
गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ताको कार्यालयले २४ वैशाखमा उनीउपर कुनै उजुरी तथा जाहेरी नरहेको पत्र दिएको थियो । रुपन्देही जिल्ला अदालतमा दायर सुप्रिम बचत तथा ऋण सहकारी संस्था, चितवनको सहारा सहकारी संस्था र कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनामा आफ्नो संलग्नता रहे/नरहेको जानकारी पाउन भनी लामिछानेले उक्त कार्यालयमा निवेदन दिएका थिए । यसैको जवाफ दिँदै महान्यायाधिवक्ताको कार्यालयले उनीमाथि कुनै उजुरी÷जाहेरी, अनुसन्धान तथा अभियोजनसमेत नभएको जवाफी पत्र लेखेको थियो ।
तर, सर्वोच्चले अन्तरिम आदेश दिने विषयमा दुवै पक्षलाई २८ जेठको पेसी तोकी बोलाएको छ । महान्यायाधिवक्ताको कार्यालयको पत्र र लामिछानेउपरको जाहेरी दरखास्तको प्रमाणित प्रतिलिपिसहित उपस्थित हुन आदेश भएको छ । आदेशमा विपक्षीहरूलाई बाटाका म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ ।