नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले विराटनगरमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। सुरक्षित भण्डारण, प्रशोधन, बढाबढमा बिक्री, भण्डारण गरेको अनाज धितो राखी बैंक वित्तीय संस्थाबाट कर्जा पाइनेजस्ता सुविधाले किसानको आकर्षण बढेको पाइएको कम्पनीले जनाएको छ।
अन्तर्क्रियामा सहभागी सुनसरी, बक्राहका किसान तारानन्द यादवले कृषकले उत्पादन गरेको अनाज सुरक्षित रूपमा भण्डारण गर्ने सुविधा उपलब्ध भइसकेको जानकारी पाएपछि आफूले उत्पादन गरेको अन्न सुनसरीको गढीस्थित उक्त भण्डारणगृहमा राखेको बताए। भण्डारण गरेको अन्न बढी मूल्य आउने वेलामा बिक्री गर्ने योजना रहेको उनले सुनाए।
सुनसरीको गढीस्थित भण्डारण गृह सञ्चालनमा आएको तेस्रो वर्ष पूरा भएको अवसरमा कम्पनीले आयोजना गरेको उक्त अन्तर्क्रिया कार्यक्रममा कम्पनीका अध्यक्ष आनन्द बगरियाले भण्डारणगृहमा दाना उद्योग र सर्वसाधारण किसानले आफ्ना अनाज भण्डारण गरेको जानकारी दिए। मैदा र तेल मिल तथा खाद्य प्रशोधन उद्योगहरूले पनि आधुनिक साइलो (सुरक्षित रूपमा अन्न भण्डारण गर्ने ट्यांकी)बारे जिज्ञासा राखेको उनको भनाइ छ।
कार्यक्रममा कम्पनीका महाप्रबन्धक समीरराज सत्यालले साइलोमा अनाज राख्ने तरिकाबारे जानकारी गराएका थिए। ‘साइलोमा राखेको अन्न नौ महिनासम्म ताजा बस्छ । कुहिने, किरा लाग्नेजस्ता समस्या हुँदैन,’ उनले भने।
कम्पनीले भण्डारणमा अन्न राख्ने किसानलाई एकै ठाउँबाट बिउबिजन, मलखाद, औषधि, उपकरण तथा अन्य आवश्यक वस्तु र सेवा पनि उपलब्ध गराउँदै आएको छ। भण्डारण गृहमा रहेको अनाज लिलाम बढाबढमा बिक्री गर्ने प्रबन्ध पनि कम्पनीले मिलाइदिने हुँदा आफ्नो उत्पादनको उचित प्रतिफल पाइने विश्वासले किसान यसप्रति आकर्षित भएका कम्पनीको दाबी छ।
सर्वसाधारणको २० प्रतिशत स्वामित्व रहेको यो कम्पनीले पर्साको बिरुवागुठीमा केही दिनअघि अन्न भण्डारणगृह सञ्चालनमा ल्याएको थियो। कपिलवस्तुको वीरपुरमा पनि चाँडै नै यो सेवा उपलब्ध गराउने तयारी रहेको कम्पनीले जनाएको छ।