न्युरोडमा महानगरले फुटपाथलाई चौडा बनाउन सडक खनेको विषय कति ठीक हो ?
एउटा व्यवस्थित सहर भनेको फुटपाथ चौडा हुनु पनि हो । यस हिसाबले फुटपाथ चौडा गर्नु एकदमै ठिक हो । चौडा र व्यवस्थित पैदलमार्ग भएको सहर राम्रो मानिन्छ । पैदलमार्ग चौडा बनाउने योजना व्यवस्थित सहरका लागि राम्रो पनि हो । तर, हाम्रो कानुनले सडकको अधिकार विभिन्न निकायलाई दिएको छ । यो काम गर्दा महानगरले समन्वय र कानुनी परिधिभित्र रही सरोकारवाला निकायसँग मिलेर काम गर्नुपर्छ । अन्य देशमा यस्तो सुधार गर्न खोज्दा त्यहाँका बासिन्दासँग छलफल गरिन्छ, तर यहाँ स्थानीयसँग छलफल नभएकाले पनि यस्तो समस्या उत्पन्न भएको हो ।
यही विषयलाई लिएर स्थानीय र केन्द्र सरकारबीच टसल उत्पन्न भएको छ, यो कसरी समाधान होला ?
हाम्रो संविधानले नै संघीय र स्थानीय सरकारका क्षेत्राधिकार प्रस्ट रुपमा लेखेको छ । कानुनसम्मत न्युरोडको सडक संघीय सरकारमातहत पर्ने हुँदा सम्बन्धित संघीय मन्त्रालयसँग छलफल तथा सहमति गरी कार्य अघि बढाउनुपर्छ । कानुनअनुसार समन्वय र सहकार्य गरेर अघि बढ्ने हो भने यस प्रकारका बाधा आउँदैनन् ।
पैदल मार्गलाई चौडा बनाएर सवारीका लागि सडक साँघुरो पार्दा त्यहाँका व्यवसायीको व्यापारमा नकारात्मक असर पर्दैन ?
विकसित देशका उदाहरण हर्दा यस्तो व्यापारिक केन्द्रमा पूर्णतः सवारी साधनलाई रोक लगाएको पाइन्छ । पैदलमार्ग व्यवस्थित बनाएर मानिस पैदल हिँड्दा झन् व्यापार बढेका उदाहरण छन् । मानिसलाई जति धेरै हिँडडुल गर्न सहज बनाइन्छ, त्यति नै राम्रो व्यापार हुन सक्छ । त्यसकारण व्यवसायीहरू यसबारे धेरै चिन्तित हुनेपर्ने अवस्था देखिँदैन ।