उदयपुरको त्रियुगा र कटारी नगरपालिकामा गर्मीका कारण दुई दिन विद्यालयहरूमा बिदा दिइएको छ। अत्यधिक गर्मी बढेर पठनपाठनमा समस्या आएपछि दुवै नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन्।
दुवै नगरपालिकाले जारी गरेको पत्रमा बिहीबार र शुक्रबार बिदा दिने भनिएको छ। त्रियुगा नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत शिवकुमारी राउतले जारी गरेको पत्रमा नगरपालिकाभित्र सञ्चालित सबै विद्यालयलाई जेठ १७ र १८ गते बिदा दिइएको छ।
केही दिनदेखि अत्यधिक गर्मी बढेको कारणले विद्यार्थीहरूलाई पठनपाठनमा समस्या भएको भन्दै विद्यायलहरूले गुनासो गरेकोले नगरपालिकाको आजको बैठकले बर्खे बिदाबाट मिलान हुने गरी दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ।
यसैगरी कटारी नगरपालिकामा पनि अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालयमा बिदा दिइएको हो। कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईद्वारा जारी सूचनामा नगरपालिकाका सबै सामुदायिक र संस्थागत विद्यालयलाई बिदा दिइएको छ।
बर्खे बिदाबाट कट्टा हुने गरी दुई दिन सम्पूर्ण विद्यालयमा बिदा दिइएको पत्रमा उल्लेख गरिएको छ। भित्री मधेशमा पर्ने नगरपालिकाका वडा नम्बर १ देखि ७ सम्म चर्को गर्मीका कारण जनजीवन प्रभावित भएको छ।