अभ्यास खेलमा नेपाल ६३ रनले पराजित

बुधबार, १६ जेठ, २०८१
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअघि सोमबार भएको अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ । अमेरिकाको डालासमा भएको खेलमा क्यानडाले पहिलो ब्याटिङ गरी २० ओभरमा सात विकेट गुमाएर १८३ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपाल १९.३ ओभरमा १२० रनमा समेटियो । 

लक्ष्य पछ्याएको ब्याटिङ इनिङ्समा नेपालको फितलो प्रदर्शन भयो । शीर्ष चारबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहारो रन बनाउन सकेनन् । मध्य तथा पुछारका ब्याट्सम्यानले क्यानडाको बलिङ आक्रमण झेल्न सकेनन् । कप्तान रोहितकुमार पौडेलदेखि अविनाश बोहरासम्मको लाइन अपमा खेलाडीले समग्रमा २० रन मात्र बनाए ।

कप्तान रोहिट (१), सन्दीप जोरा (६), गुल्सन झा (०), सोमपाल कामी (४), करण केसी (५), सागर ढकाल (५) र अविनाश (०) रनमा आउट भए । इनिङ्सको एक समय नेपाल ६२–४ को स्थितिमा थियो । नेपालले अन्तिम पाँच विकेट २६ रनमा गुमाएको थियो । 

यसअघि ओपनर कुशल भुर्तेलले १६ बलमा १० रन तथा आसिफ सेखले २२ बलमा २२ रन जोडेका थिए । अनिल शाहले १६ बलमा दुई चौका र एक छक्का प्रहार गरी २४ रन जोडेका थिए । कुशल मल्लले ३० बलमा आक्रामक ब्याटिङ गरी ३० बलमा समान दुई चौका र छक्का प्रहार गरी ३७ रनको योगदान दिए । नेपालको ब्याटिङमा सेख र अनिलबीच दोस्रो विकेटका लागि सर्वाधिक ३९ रनको साझेदारी भएको थियो । 

निकोलासको अर्धशतक
क्यानडाको ब्याटिङमा निकोलास किर्टनले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरी ५२ रन बनाए । यसैगरी, रवीन्द्रपाल सिंहले नटआउट ४७ रन बटुले । उनले १७ बलमा चार छक्का र एक चौका प्रहार गरे । दोस्रा ओपनर नभितले २७ बलमा ३२ रन बनाए । बलिङमा नेपालका लागि अविनाशले २७ रन खर्चेर दुई विकेट लिए । करण, सोमपाल, गुल्सन, ललित राजवंशी र सागरले समान एक विकेट लिए । 

नेपाल समूह ‘डी’ मा 
टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’मा छ । नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा विश्वकप आयोजना गर्दै छन् । पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी–२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् । ५५ खेल हुने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । चार समूहका शीर्ष दुई–दुई टोली सुपर आठमा पुग्नेछन् । सुपर आठमा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछ । 

सुझावित समाचार