बजेटमा आइतबारदेखि छलफल

बुधबार, १६ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले संघीय संसद्को दुवै सभामा आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट पेस गरेको छ । प्रस्तुत बजेटमा आइतबारदेखि दुवै सभामा छलफल हुनेछ । सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधिसभाको बैठक आइतबार ११ बजे बोलाएका छन् । 

अर्थमन्त्री वर्षमान पुनले संविधानको धारा ११९ बमोजिम आगामी बजेट वक्तव्य दुवै सभाको संयुक्त बैठकमा वाचन गरेर प्रतिनिधिसभा र राष्ट्रिय सभाको मंगलबार साँझ छुट्टाछुट्टै बसेको बैठकमा पेस गरेका हुन् । प्रतिनिधिसभामा मन्त्री पुनले विभिन्न राजस्व, कर शुल्क र महसुलको दस्तुर निर्धारणसम्बन्धी व्यवस्था रहेको आर्थिक विधेयक, २०८१ पनि पेस गरेका थिए । प्रतिनिधिसभामा २०, २१ र २२ जेठसम्म छलफल हुनेछ । २३ गते अर्थमन्त्रीले जवाफ दिनेछन् । राष्ट्रिय सभामा २०, २१ र २२ जेठसम्म छलफल हुनेछ, २२ गते नै अर्थमन्त्री पुनले जवाफ दिनेछन् । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले छलफलका लागि आइतबार १ बजेर १५ मिनेटमा बैठक तोकेका छन् ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बजेटसँगै दुवै सभामा सरकारबाट विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दर्ता भई छलफल प्रारम्भ हुन्छ । विनियोजन विधेयकमा मन्त्रालयगत छलफल हुन्छ । सांसदहरूले खर्च कटौतीको प्रस्ताव राख्न पाउँछन् । छलफलमा क्रमशः मन्त्रीहरूले उत्तर दिनुपर्छ । विधेयकहरू दुवै सभाबाट पारित भइसकेपछि राष्ट्रपतिबाट प्रमाणीकरण भई कार्यान्वयनमा आउँछ । १ साउनमा नयाँ आर्थिक वर्ष प्रारम्भ भएसँगै नयाँ बजेट कार्यान्वयनमा आउँछ । 

बजेट पेस गर्नुका अलावा मंगलबारको प्रतिनिधिसभा बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश बहुमतले स्वीकृत गरेको छ । सहकारीमा संसदीय छानबिन समितिको माग गर्दै विपक्षी दलको अवरोध हुँदा अध्यादेश अधिवेशनको पहिलो दिन सभामा पेस हुन सकेको थिएन । समिति गठन भएर अवरोध हटेसँगै मंगलबार पेस भई स्वीकृत भएको हो । 

यसैगरी, बैठकले संघीय निजामती सेवा विधेयक र राष्ट्रिय सभाबाट आएको विद्युतीय व्यापार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । शिक्षा समितिको प्रतिवेदनसहित सुरक्षण मुद्रण विधेयक सभापति अम्मरबहादुर थापाले सभामा पेस गरेका थिए । यसैगरी, सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने गरी अमृतादेवी अग्रहरी, चन्दा कार्की भण्डारी, दुर्गा राई, बुद्धिमान तामाङ, मुक्ताकुमारी यादव, राजेन्द्रकुमार केसी र हेमराज राईलाई मनोनीत गरिएको छ । 

See More On

सुझावित समाचार