भरतपुर–पोखरा–बुटवल जोडेर आर्थिक त्रिभुज परियोजना सञ्चालन गरिने

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

भरतपुर, पोखरा र बुटवल जोडेर सरकारले आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने भएको छ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१-८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

अर्थमन्त्री पुनले एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गरिने उल्लेख गरे।

गण्डकी त्रिभुजमा पर्ने निर्माणाधीन नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने उनले उल्लेख गरे।

बुटवल–पोखरा सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गरिने तथा त्रिभुजका तीनवटै करिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल विकास गरिने अर्थमन्त्री पुनले उल्लेख गरे।

परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने अर्थमन्त्रीले विश्वास व्यक्त गरे।

सुझावित समाचार