नदी कटानले बगर बनेको रडाहा क्षेत्र हरियाली

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

चुरे भएर बग्ने राधा नदीको कटानले बगर बनेको कञ्चनपुरको बेदकोट नगरपालिका– १ रडाहा तटीय क्षेत्र हरियाली भएको छ।

रडाह क्षेत्र संरक्षणका लागि स्थानीय अग्रसर भएपछि बगर क्षेत्रमा हरियाली छाएको छ। चुरे संरक्षण सञ्जालले अहिले नदी कटान नियन्त्रण र वृक्षरोपणमा अग्रसर भएर काम गरिरहेको छ।

चार वर्षअघि राधा नदीमा आएको बाढीले कटान गरेर आसपासका क्षेत्र बालुवामा परिणत भएको बेदकोट– १ का वडा सदस्य विनोद विष्टले बताए। ‘नदीले आफ्नो तटीय क्षेत्र मात्रै नभई केही स्थानीयको खेतीयोग्य जमिनसमेत कटान गरेको थियो,’ उनले भने, ‘अहिले जैविक, ढुंगा तारजालीको तटबन्धसहित वृक्षारोपणका कार्यक्रम भएपछि बगर हरियाली बनेको छ।’

रडाहा तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष डम्बरबहादुर रावलले विगत तीन वर्षदेखि नदीमा तटबन्ध निर्माण सुरु गरिएको बताए। उनका अनुसार माथिल्लो भेगमा सरकारले ढुंगा, तारजाली र तल्लो तटीय क्षेत्रमा चुरे सञ्जालले जैविक तटबन्ध निर्माण गरेपछि कटान रोकिएको हो।

‘अहिले हामीले ७० मिटर लामो जैविक तटबन्ध निर्माण गरिरहेका छौँ,’ उनले भने, ‘यसबाट एकातिर नदीको कटान नियन्त्रण भएको छ, अर्कातिर वृक्षारोपण गरिएको क्षेत्र पनि सुरक्षित भएको छ।’ चुरे सञ्जालका अध्यक्ष रवीन्द्र कुँवरका अनुसार नदीको उच्च कटान क्षेत्रमा एकातिर बस्ती र अर्कातिर जैविक तटबन्धलगायत पर्यावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिएको छ। तीन वर्षदेखि चुरे सञ्जालले पश्चिम तराई भू–परिधि कार्यक्रममार्फत जैविक तटबन्ध र राधा नदीको रडाहा नदी तटीय क्षेत्रमा वृक्षारोपण गर्दै आएको छ।

‘नदीले पश्चिम बस्तीतर्फ तटीय क्षेत्र कटान गरेपछि बगरमा परिणत भएको जमिनमा हामीले तारबार लगायौँ,’ उनले भने, ‘बगर बनेपछि अतिक्रणको उच्च जोखिममा रहेको उक्त क्षेत्रमा लगातार वृक्षरोपण गर्दै आएका छौँ। अहिले नदीको कटान पनि रोकिएको छ। अर्कातिर सार्वजनिक जमिन पनि संरक्षण  भएको छ।’

झन्डै पाँच हेक्टर क्षेत्रफल जमिनमा तारजाली लगाएर अम्रिसो, सिसौ, खयरलगायतका विविध प्रजातिका बिरुवा रोपिएको छ। झन्डै चार सय मिटर तारजाली लगाएर नदीको बगर क्षेत्रलाई संरक्षण गरिएको कुँवरले बताए। ‘नदीले कटान गरे पनि यो क्षेत्र अतिक्रणको चपेटामा थियो,’ उनले भने, ‘हामी आएर स्थानीयसँग छलफल गर्दै अतिक्रमणबाट जोगाउँदै वृक्षरोपण गरेपछि आज बगर हरियाली बनेको छ।’

बेदकोट नगरपालिका– १ का वडाध्यक्ष रमेश भण्डारीले राधा नदीको कटानबाट बनेको बगर क्षेत्र संरक्षणका कार्यक्रम अघि बढाएपछि सार्वजनिक जमिनसमेत संरक्षण  भएको बताए। ‘नदीले बस्तीतिरै कटान गर्न थालेपछि हामीलाई चिन्ता थियो,’ उनले भने, ‘चुरे सञ्जालबाट तटबन्धदेखि संरक्षणका कार्यक्रम अघि बढाइएपछि बस्ती र जमिन जोगिएको छ।’

सुझावित समाचार