नेपालमा पहिलोपटक पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल भलिबल संघ (एनभिए) र केडिया अर्गनाइजेसन प्रालिबीच आइतबार लिग आयोजनाका लागि सात वर्षको सम्झौता भएको छ । सम्झौतामा एनभिएका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केडिया प्रालिका प्रबन्ध निर्देशक विमलकुमार केडियाबीच हस्ताक्षर भयो । पूर्वसांसदसमेत रहेका केडियाले नेपालमा भलिबलको सम्भावना रहेकाले सहकार्य गरेको बताएका छन् । ‘राष्ट्रिय खेल भलिबलको माग बढ्दो छ । साथै, यसले सम्भावना राम्रो देखाएकाले सहकार्य गरेका हौँ,’ केडियाले भने, ‘खेलाडी, प्रशिक्षक र यससँग सरोकार राख्ने सबैलाई थप व्यावसायिक बनाउने अपेक्षा गरेका छौँ ।’
सम्झौताअनुसार केडियाले हरेक वर्ष संघलाई ३५ लाख उपलब्ध गराउनेछ । केडियाले नै फ्रेन्चाइज टोली निर्माण, अक्सनदेखि सम्पूर्ण जिम्मेवारी पाएको छ । प्राविधिक टिम एनभिएले उपलब्ध गराए पनि उनीहरूको खर्चसमेत केडियाले गर्नुपर्नेछ । सातै प्रदेशबाट टिम बनाउँदै प्रतियोगिता आगामी माघ–फागुनमा गर्ने तयारी भएको छ ।
संघका अध्यक्ष चन्दले निर्धारित समयमै प्रतियोगिताको आयोजना हुने बताए । ‘पहिलोपटक फ्रेन्चाइज लिग आयोजना गर्दै छौँ । हामीलाई केडिया प्रालिले साथ दिएको छ । जसरी पनि तोकिएको समयमै लिग गर्छौँ,’ उनले भने । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान भरत शाहले लिग आयोजनाले खेलाडी व्यावसायिक बन्ने बताए । १६ वर्ष नेपाली टोलीको कप्तानी गरेका शाहले आफ्नो समयमा फ्रेन्चाइज लिग नभएको बताए ।
चौधरी ग्रुपले हात झिक्यो
चौधरी ग्रुपको स्वामित्वमा रहेको नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले भलिबल फ्रेन्चाइज लिग गर्न ०७८ भदौमा संघसँग सम्झौता गरेको थियो । तत्कालीन संघका उपाध्यक्ष निरोज मास्के र चौधरी समूहबाट आश्रेता कार्की चौधरीले सम्झौता गरेका थिए ।
तत्कालीन राखेप सदस्यसचिव रमेशकुमार सिलवालको उपस्थितिमा भएको सम्झौताअनुसार फ्रेन्चाइज लिग १७ नोभेम्बरदेखि १७ डिसेम्बर २०२१ मा हुनुपर्ने थियो । नेपाल सुपर लिग फुटबल आयोजना गरेको नेपाल स्पोर्टस् प्रालिले आर्थिक कारण देखाउँदै भलिबलको लिग आयोजना गर्न सकेन । सम्झौताअनुसार कम्पनीले दुई वर्षसम्म भलिबलको फ्रेन्चाइज लिग गर्न सकेन ।
चौधरी ग्रुप पछि हटेपछि संघका अध्यक्ष चन्दले केडियासँग एक वर्षअघि नै सहकार्य गरेको जनाए । ‘हामीबीच गत वर्ष नै सम्झौता भए पनि काम नभएपछि रद्द गरेका हौँ । उहाँहरूले आयोजना गर्न नसक्ने भन्नुभयो,’ चन्दले भने, ‘यसपटक केडियाबाट सहयोग प्राप्त भएको छ ।’
यसअघि ०७५ असोजमा पहिलोपटक फ्रेन्चाइज आदिआवादी महिला भलिबल प्रतियोगिता आयोजना भएको थियो । पहिलो संस्करण चितवन टाइगर्सले जितेपछि प्रतियोगिताले निरन्तरता पाउन सकेन । अध्यक्ष चन्दले पुरुष फ्रेन्चाइज लिगपछि महिला फ्रेन्चाइज लिगका लागि पनि चाँडै सम्झौता हुने बताएका छन् । ‘महिला लिग भएन भनेर आत्तिनु पर्दैन । चाँडै सम्झौता गर्नेछौँ,’ उनले ।
सम्झौताअनुसार लिग गर्छाैँ
जितेन्द्र चन्द, अध्यक्ष, नेपाल भलिबल संघ
अघिल्लोपटक भएको सम्झौता रद्द भयो । प्रतियोगिता गर्न धेरै कोसिस गरेका थियौँ । दुई वर्ष सम्झौता भएर पनि प्रतियोगिता नभएपछि रद्द गरेका हौँ । नयाँ सम्झौता शतप्रतिशत लागू हुन्छ । यसमा कसैले शंका गर्नुपर्दैन । प्रतियोगिताको सबै व्यवस्थापन केडिया प्रालिले गर्नेछ । महिला लिगको पनि कुरा भएको छ । बजेटका कारण अहिले पुरुषको प्रतियोगिता गर्ने सहमति भएको हो । महिला लिगका लागि पनि छिट्टै सम्झौता गर्छाैँ ।
भलिबलको उचाइ बढाउँछौँ
विमलकुमार केडिया, प्रबन्ध निर्देशक, केडिया प्रालि
राजनीतिसँगै व्यवसायलाई फरक ढंगले बढाएको छु । व्यक्तिगत रूपमा भलिबलमा आबद्ध भएको हो । राष्ट्रिय खेलले फड्को मार्नुपर्छ भनेर यससँग आबद्ध भएका हौँ । राजनीतिक पहुँचबाट भलिबलको उचाइ बढाउँछौँ । सबै प्रश्नको सामना गर्न तयार छु । संघ र हामी सबै मिलेर व्यवस्थित कभर्ड हल बनाउन पहल गर्नुपर्छ ।
भलिबललाई व्यावसायिक बनाउने बाटो हो
भरत शाह, पूर्वकप्तान, नेपाल
संघ स्थापनाको लामो समयपछि पुरुष फ्रेन्चाइज लिग हुनु आफैँमा राम्रो सुरुवात हो । लिग आयोजनाले भलिबललाई अझै व्यावसायिक बनाउन सहयोग पुर्याउनेछ । समयमै प्रतियोगिता भए यसले नेपाली भलिबललाई थप व्यावसायिक बनाउन ठूलो भूमिका खेल्नेछ ।
हरेक टोलीमा तीनजना विदेशी
संघले लिगको पहिलो संस्करण काठमाडौंमै गर्ने योजना बनाएको छ । पहिलो संस्करणपछि पुरुष भलिबल लिगलाई विस्तारित रूपमा होम एन्ड अवेका आधारमा अन्य सहरमा समेत खेलाइने संघका अध्यक्ष चन्दले बताए । ‘पहिलो संस्करण काठमाडौंमै गर्ने तयारीमा छौँ, त्यसपछि बिस्तारै होम एन्ड अवेअनुसार विभिन्न सहरमा आयोजना गर्छौँ,’ उनले भने । नेपालको भलिबल इतिहासमा पहिलोपटक हुन लागेको पुरुष फ्रेन्चाइज लिगले नयाँ उचाइ लिने संघको विश्वास छ । फ्रेन्चाइज लिगमा सात टोलीमा कम्तीमा तीन विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । ‘हरेक टोलीमा तीनजना विदेशी खेलाडी राख्न सकिनेछ,’ उनले भने ।