सहकारीको एजेन्डासहित कांग्रेस सडकमा

संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम किटान नभए सिंहदरबार र बालुवाटार घेराउ गर्ने चेतावनी

सोमबार, १४ जेठ, २०८१
डिजिटल संस्करण
सहकारीको एजेन्डासहित कांग्रेस सडकमा

सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै आइतबार कांग्रेसले भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन । तस्बिर : संजित परियार/नयाँ पत्रिका

प्रमुख विपक्षी दल कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेर निष्पक्ष छानबिनका लागि संसदीय समिति नबने सिंहदरबार र बालुवाटारकेन्द्रित सडक प्रदर्शन गर्ने चेतावनी दिएको छ । समिति गठनका लागि संसद् र सडक दुवैतिरबाट दबाब बढाउने नीति लिएको कांग्रेसले आइतबार काठमाडौंको भृकुटीमण्डपमा पहिलो सडक प्रदर्शन गर्दै त्यस्तो चेतावनी दिएको हो । 

महामन्त्री विश्वप्रकाश शर्माले लामिछानेकै नाम तोकिएको छानबिन समिति गठन गर्नुपर्नेसहित सातबुँदे माग सार्वजनिक गर्दै पूरा नभए सातै प्रदेशमा संघर्ष समिति बनाएर दबाब सिर्जना गर्ने घोषणा गरे । उनले प्रतिपक्षलाई पेल्ने निरंकुश शैली सरकारले बदल्नुपर्ने, सहकारी ठगी र गिरीबन्धु जग्गा सट्टापट्टा प्रकरणमा अघोषित एमाले अध्यक्ष केपी ओली र रास्वपा अध्यक्ष रवि लामिछानेको गठबन्धनबाट प्रधानमन्त्री मुक्त हुनुपर्ने, सभामुख देवराज घिमिरे सत्तापक्षको रिमोट कन्ट्रोलबाट मुक्त हुनुपर्ने, सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेको नामै किटान गरेर संसदीय समितिमार्फत निष्पक्ष, इमानदार र गहिरो ढंगले छानबिन गर्नुपर्नेसहितका माग अघि सारे ।

विश्वप्रकाश शर्मा,
महामन्त्री, कांग्रेस

‘हामी बतासे प्रकारको समिति होइन, गृहमन्त्रीको नामसहितको छानबिन समिति बन्नुपर्छ भन्ने पक्षमा छौँ, होइन भने ठूलो प्रदर्शन गरेर बालुवाटार र सिंहदरबार घेराउ गर्छौँ । आजको प्रदर्शन भातखौरे हो, सम्पूर्ण शक्तिसहित केन्द्रीय समिति उत्रियो भने जन्ती आउँदै गर्दा विशाल उपस्थित हुन्छ भन्ने कुरा सत्ताले अहिल्यै बुझोस् ।

त्यस्तै, ठगीमा मुछिएका सबै सहकारीको छानबिन गरी बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने तथा कांग्रेसले संसद्मा दर्ता गरेको ०४६ यता सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने संकल्प प्रस्तावअनुसार काम अघि बढानुपर्ने माग सार्वजनिक गरे । उनले निष्पक्ष छानबिनको सुनिश्चितता नभए अहिलेभन्दा ठूलो प्रदर्शन गरेर सरकारलाई बाध्य तुल्याउने चेतावनी पनि दिए । 

‘हामी बतासे प्रकारको समिति होइन, गृहमन्त्रीको नामसहितको छानबिन समिति बन्नुपर्छ भन्ने पक्षमा छौँ, होइन भने ठूलो प्रदर्शन गरेर बालुवाटार, सिंहदरबार घेराउ गर्छौँ,’ शर्माले भने, ‘आजको प्रदर्शन भातखौरे हो, सम्पूर्ण शक्तिसहित केन्द्रीय समिति उत्रियो भने जन्ती आउँदै गर्दा विशाल उपस्थित हुन्छ भन्ने कुरा सत्ताले अहिल्यै बुझोस् ।’ उनले पार्टीको मागअनुसार छानबिन समिति नबने सातवटै प्रदेशमा संघर्ष समिति बनाएर अघि बढ्ने नीति रहेको भन्दै आन्दोलनका तयारी अवस्थामा रहन कार्यकर्ता पंक्तिलाई निर्देशनसमेत दिए । 

संसदीय समिति नबनाउनुको चार कारण रहेको प्रस्ट्याउँदै उनले समिति बन्दा संसदीय अंकगणितले सरकार धरापमा पर्ने, लामिछानेलाई देखाएर सहकारी प्रकरणमा मुछिएका पार्टी पंक्ति जोगाउने, गिरीबन्धु टी इस्टेटको जग्गा सट्टापट्टा अनियमितता प्रकरणको छानबिन रोक्ने र मिसन ०८४ सम्म रास्वपालाई कमजोर बनाउने एमाले अध्यक्ष केपी ओलीको रणनीतिले काम गरेको दाबी पनि गरे । ‘झापाको विश्वप्रकाश शर्माले जति कमरेड केपी ओलीलाई बुझ्छ, भक्तपुरको लामिछानेले बुझ्न समय लाग्छ,’ शर्माले भने । उनले सहकारी बन्धु गठजोडमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निरीह बनेको भन्दै अस्तित्व देखाउन चुनौती पनि दिए । 

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको संयुक्त समितिको संयोजनमा भृकुटीमण्डपमा भएको प्रदर्शनमा प्रतिकूल मौसमका बाबजुद कांग्रेसका नेता–कार्यकर्ता सहभागी थिए । प्रदर्शनमा कांग्रेसका अर्का महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सांसदहरू जितजंग बस्नेत, सन्तोष चालिसे, कल्पना चौधरी, रामहरि खतिवडालगायत सहभागी बनेका थिए । संसद्मा नाराबाजीपछि कांग्रेस सांसदहरू सडक आन्दोलनमा पनि मिसिएका हुन् ।

सुझावित समाचार