घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र

बुधबार, ९ जेठ, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र थालिएको छ।

पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार बेँसीसहर–बागलुङपानी–घलेगाउँ सडक आयोजनाअन्तर्गत बागलुङपानीदेखि घलेगाउँतर्फ कालोपत्र गर्न सुरु गरिएको हो।

बागलुङपानी–घलेगाउँ जोड्ने १० किलोमिटर सडकमा कालोपत्र र घलेगाउँदेखि मस्याङ्दी गाउँपालिका– १ हुँदै क्व्होलासोथार– ४ भुजुङ जोड्ने सात किलाेमिटर सडक ग्राभेल गर्ने कामले तीव्रता पाएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ।

गत माघदेखि निर्माण कार्यमा फर्केको निर्माण कम्पनीले डेढ किलोमिटर कालोपत्र गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर विवेक सिग्देलले बताए।

पूर्वाधार विकास कार्यालयका अनुसार हालसम्म सडकको भौतिक प्रगति ६५ प्रतिशत काम सकिएको छ। निर्माण कम्पनीलाई २० करोड ४० लाख रुपैयाँ भुक्तानी दिइसकिएको छ।

सडकका लागि पहिलोपटक ०७९ असोज २८ गतेसम्मका लागि म्याद थप गरिएको थियो।  भ्याटसहित ३४ करोड ७७ लाख १४ हजार चार सय आठ रुपैयाँ ७९ पैसामा दुई वर्षको अवधि राखेर कालोपत्र र ग्राभेल गर्ने भनी सम्झौता गरेकोमा साढे चार वर्ष बितिसकेको छ।

घलेगाउँदेखि भुजुङतर्फ ग्राभेल गर्नका लागि सडक चौडा पार्ने, नाली, पर्खाल, ग्रेड तथा घुम्ती सुधारको कामलाई तीव्रता दिइएको सो खण्डको सहायक निर्माण कम्पनी भरोस निर्माण सेवाका सञ्चालक भरोस खड्काले बताए।

सडक कालोपत्र भएपछि दुवै पर्यटकीय गाउँका स्थानीयवासीदेखि आन्तरिक तथा बाह्य पर्यटकलाई आउजाउ गर्न सहज हुने क्व्होलासोथार गाउँपालिका– ३ का वडाध्यक्ष आशवीर गुरुङले बताए।

कान्छाराम कन्स्ट्रक्सनले ०७६ मा ३६ करोड ६६ लाखमा ठेक्का सम्झौता गरेको यो सडक आयोजना ०७८ मा सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण पछाडि धकेलिएको थियो।

See More On

सुझावित समाचार