वैशाख महिनामा सबैभन्दा बढी परिमाणमा सुन आयात भएको छ । नेपाल बैंकर्स संघका अनुसार वैशाखमा माग बढेका कारण पाँच सय ५० किलो सुन आयात भएको हो ।आयात भएमध्ये ४ जेठसम्म तीन सय ३७ किलो सुन बिक्री भई दुई सय १३ किलो विभिन्न बैंकमा मौज्दात रहेको संघले जनाएको छ । वैशाखमा सुनले सबैभन्दा बढी मूल्यमा कारोबार भएको रेकर्ड कायम गरिरहँदा मागसमेत बढ्नुलाई अस्वाभाविक रूपमा लिइएको छ ।
चालू आर्थिक वर्ष ०८०/८१ को सुरुबाटै सुनको भाउ उकालो लागिरहँदा माग घटेर प्रतिमहिना औसत दुई सय किलोआसपास आयात भइरहेकोमा वैशाखमा भने ह्वात्तै पाँच सय ५० किलो आयात गर्नुपरेको संघले जनाएको छ । चैतमा भने माग नै नभएकाले बैंकहरूले सुन आयात गरेका थिएनन् ।वैशाख पहिलो साता (३ वैशाख)मा सुनको भाउमा नयाँ रेकर्ड कायम गर्दै प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो ।
उक्त मूल्य स्थिर रहने र कहिले सामान्य दरले घटबढ भई वैशाखभर उच्च मूल्यमा सुनको कारोबार भएको थियो । ७ जेठमा भने वैशाख महिनाको रेकर्ड तोड्नै सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै बढी रकमको कारोबारसमेत हो ।मूल्य उच्च भएकै कारण तिज, दसैँ–तिहार र विवाहको सिजनमा समेत न्यून परिमाणमा खपत भएको सुन वैशाखमा उच्च माग हुँदा अचम्मित भएको संघका प्रमुख कार्यकारी अघिकृत (सिइओ) अनिल शर्माले बताए ।
‘पहिला मूल्य उच्च हुँदा बैंकहरूबाट नयाँ सुनको बिक्री करिब ठप्पजस्तै हुन्थ्यो । तर, यसपालि ठीक उल्टो अवस्था देखिएको छ,’ शर्माले भने, ‘यसपालि सुनको मूल्यले क्रमिक रूपमा नयाँ रेकर्ड राख्दा पनि यसको बिक्री भने अचम्मै ढंगले बढेको छ ।’
विगतमा मूल्यवृद्धि हुँदा बैंकमा पाँच सय किलोसम्म सुन थुप्रिरहेको अनुभव सुनाउँदै उनले यसपालि मूल्यमा भएको वृद्धिको तुलनामा बंैकमा न्यून मौज्दात रहेको बताए । सुनका गरगहनाको खरिद–बिक्री सुस्ताए पनि नयाँ सुनको खरिद–बिक्री उच्च देखिएको उनले बताए ।
सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सर्वसाधारणले सुन किनेर मौज्दात राखेको हुन सक्ने बताए । ‘अहिले सुनको मूल्य थप बढ्छ भनेर विश्वव्यापी रूपमै हल्ला छ । त्यसकै पछाडि लागेर विदेशमा रहेका नेपालीले आफ्नो घरका मान्छेलाई सुन किन्न सुझावसँगै पैसासमेत पठाउने गरेका छन्जस्तो छ,’ उनले भने, ‘नेपालमा हिन्दू धर्मावलम्बी नेपाली धेरै छन् । हिन्दू धर्मावलम्बीको विवाहलगायत सांस्कृतिक कार्यक्रममा सुन अनिवार्यजस्तै छ । भविष्यमा सुन किन्दा महँगो हुने डरले पनि अहिले किनेर राख्ने गरेका छन् ।’
डेढ महिनामा चार सय ५५ किलो बिक्री
बैंकर्स संघका अनुसार १८ चैत ०८० देखि ४ जेठ ०८१ सम्मको डेढ महिनामा चार सय ५५ किलो नयाँ सुन बिक्री भएको छ । अघिल्ला महिनाहरूमा मासिक औसत दुई सय ५० किलो सुन बैंकबाट बिक्री हुने गरेको थियो । तर, पछिल्लो डेढ महिनामा दोब्बर परिमाणले सुनको माग हुँदा बैंकहरू अचम्मित भएका छन् ।
संघका अनुसार १७ चैतमा बैंकहरूसँग एक सय १८ किलो सुन मौज्दात थियो, तर तीव्र माग भएका कारण २८ चैतमा मौज्दात नै सकियो । त्यसपछि पनि माग बढेकाले बैंकहरूले वैशाखमा पाँच सय ५० किलो आयात गर्नुपरेको थियो । वाणिज्य बैंकहरूले दैनिक २० किलोसम्म सुन आयात गरी बिक्री गर्न पाउने व्यवस्था छ ।