नेपाली बक्सिङ खेलाडीले पेरिस ओलम्पिक खेलकुद प्रतियोगितामा छनोट हुन छनोट प्रतियोगितामा भाग लिने भएका छन् । नेपाली बक्सिङ टोलीले थाइल्यान्डमा २४ मेदेखि ३ जुनसम्म आयोजना हुने दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा भाग लिनेछन् । तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्नेछ ।
दुई पुरुष र एक महिला खेलाडीले छनोट प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३.५ केजीमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्नेछन् । महिला ५४ केजीमा अञ्जनी तेलीले खेल्नेछिन् । प्रशिक्षकमा प्रकाश थापामगर छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले मंगलबार बिदाइ गरेका छन् ।
राखेपका सदस्यसचिव घिसिङले छनोट प्रतियोगितामा उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न बताए । ‘छनोट हुने राम्रो अवसर हो । उच्च मनोबलका साथ प्रदर्शन गर्नुहोला,’ घिसिङले भने, । यसअघि पेरिस ओलम्पिकमा ब्याडमिन्टनका प्रिन्स दाहाल, म्याराथनमा सन्तोषी श्रेष्ठ युनिभर्सियालिटी कोटामा छनोट भएका थिए ।
टेबलटेनिसका स्यान्टु श्रेष्ठले गत साता काठमाडौंमै आयोजना भएको दक्षिण एसियाली छनोटमा शीर्ष स्थानमा रहँदै ओलम्पिकमा स्थान सुरक्षित गरेका थिए । छनोट प्रतियोगिताबाट ओलम्पिकमा स्थान पक्का गर्ने श्रेष्ठ तेस्रा नेपाली खेलाडी हुन् । उनीभन्दा अगाडि तेक्वान्दोका संगीना वैद्य र दीपक विष्ट छनोट चरण पार गरी ओलम्पिक खेलेका थिए । ‘तेक्वान्दोकी पलेशा गोवर्धन र टेबलटेनिसका श्यान्टु छनोट भएर नेपाली खेलकुदमा सकारात्मक सन्देश प्रवाह भएको छ,’ घिसिङले भने ।