गाउँपालिकाले खर्च तिर्ने कागज गर्छु भन्दा पनि विराट नर्सिङले शव दिन मानेन

सप्तरीमा ट्र्याक्टरको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु, अस्पतालले चार दिनदेखि बन्धक बनाएको शव माग्न जनप्रतिनिधिसहित स्थानीय धर्नामा

मंगलबार, ८ जेठ, २०८१
डिजिटल संस्करण
गाउँपालिकाले खर्च तिर्ने कागज गर्छु भन्दा पनि विराट नर्सिङले शव दिन मानेन

विराटनगरस्थित विराट नर्सिङ होमको गेटमा सोमबार राति धर्ना दिँदै जनप्रतिनिधिसहित मृतकका आफन्त

विराटनगरस्थित विराट नर्सिङ होममा सप्तरीको बलानबिहुल गाउँपालिका– २ की श्यामकुमारी रामको मृत्यु भएको चार दिन भयो । मृतकको सद्गतका लागि परिवारका सदस्य शव आउने बाटो हेरेर भोकभोकै छन् । तर, अस्पतालले सबै उपचार खर्च नउठेको भन्दै शव दिन इन्कार गरिरहेको छ । यतिसम्म कि गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवसहितको टोली अस्पतालमै गएर पालिकाले नै खर्च व्यहोर्ने गरी कागज गर्न प्रस्ताव गर्दासमेत अस्पतालले शव दिन अस्वीकार गरेको छ ।

पालिका अध्यक्ष यादव, उपाध्यक्ष रेणु यादवसहित स्थानीयको टोली सोमबार साँझ अस्पताल पुगेको छ । उपचार खर्च पालिकाले तिर्ने गरी कागज गरेर शव उठाउन दिन आग्रह गरे पनि अस्पतालले नमानेको अध्यक्ष यादवले बताए । ‘अस्पताल बिलको ३० प्रतिशत छुट दिन तयार छ, तर उहाँहरू बाँकी रकम नगदै माग्दै हुनुहुन्छ,’ अध्यक्ष यादवले भने, ‘केही रकम श्यामकुमारीका श्रीमान्ले तिरिसक्नुभएको छ । थप डेढ लाख उहाँले तिर्न खोज्दै हुनुहुन्छ । बाँकी रकम गाउँपालिकाले तिर्छ, अहिले कागज गरेर शव दिनुहोस्, कार्यपालिकाको बैठक बसेर निर्णय गराई चेक दिन्छौँ भन्दा पनि उहाँहरूले मान्नुभएन ।’ शव माग्दै पालिका नेतृत्वको टोलीले अस्पतालमै धर्ना दिएको छ ।

श्यामकुमारीको उपचारका क्रममा अस्पताल र फार्मेसीमा गरी साढे २० लाख बिल उठेको थियो । जसमध्ये अस्पतालको मात्रै १२ लाख ५० हजार बिल उठेकोमा तीन लाख ७५ हजार मृतकका श्रीमान् रमेश रामले तिरिसकेका छन् । अस्पतालले ३० प्रतिशत छुट दिने भनेपछि अब बुझाउनुपर्ने पाँच लाख हुन आउँछ । यसमा डेढ लाख पीडितले नै बुझाउने भनेका छन् भने बाँकी साढे तीन लाख गाउँपालिकाले व्यहोरिदिन खोजेको छ ।

मृतकका श्रीमान् उमेशले ‘अन्तिम संस्कार त गर्न देऊ’ भनेर शव माग्दा पनि नपाएको बिलौना गरे । ‘अस्पताल मान्दैन, नगदै खोजिरहेछ,’ उनले भने, ‘ट्र्याक्टरका मालिक फरार छन् । चालक कारागारमा छन् । उनीहरू आएपछि पैसा त आउँथ्यो होला । अहिले बिल तिर्ने पैसा भएन ।’ अस्पतालका लेखा अधिकृत सुवास पोखरेलले नगद नआएसम्म शव दिन नसकिने बताए । ‘लाखौँ रुपैयाँको कुरा छ, कागजका भरमा कसरी छाड्नु । नगद पाउनुपर्छ,  हामीले पनि अस्पताल चलाउनुपर्छ,’ उनले भने ।

५ चैतमा स.१त ३२८ नम्बरको ट्र्याक्टरले सप्तरीको बोदेबरसाइन नगरपालिका– १ मा  ठक्कर दिएपछि घाइते भएकी श्यामकुमारीको ३ जेठमा उपचारका क्रममा ज्यान गएको थियो । उनको शव लैजानका लागि अस्पतालको बिल तिर्न खोजिए पनि फार्मेसीमा पनि बाँकी नै छ । मृतकका श्रीमान् उमेशका अनुसार फार्मेसीको आठ लाखमध्ये पाँच लाख २५ हजार यसअघि नै तिरिसकिएको छ । दुई लाख ७५ हजार तिर्न बाँकी छ । घरछेउकै एक कट्ठा जग्गा तीन लाखमा बेचेर तथा साहुकारबाट पाँच लाख ऋण लिएर अस्पताल र फार्मेसीलाई पैसा तिरे पनि बाँकी पैसा जोहो गर्न नसकेको उमेशले बताए । 

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक लिलम उप्रेतीका अनुसार श्यामकुमारीलाई ठक्कर दिने ट्र्याक्टरका चालक श्रवण सदाय पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत सप्तरीले उनलाई ४ वैशाखमा पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । ट्र्याक्टर मालिक बलराम साहले सुरुमा एक लाख रुपैयाँ उपचारका लागि दिएका थिए । त्यसपछि उनी फरार रहेकाले उपचार खर्च तिर्ने सहमति नभएको प्रहरी निरीक्षक उप्रेतीले बताए । श्रीमती दुर्घटनामा परेका वेला उमेश वैदेशिक रोजगारीका क्रममा कतारमा थिए । उमेशका दुई छोरी र एक छोरा छन् । 

दलित आयोगको ध्यानाकर्षण
दलित आयोगले उपचारको रकम तिर्न नसक्दा महिलाको शव अस्पतालमै रहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले अस्पतालको यो रवैया निन्दनीय रहेको बताए । ‘दलितमाथिको यो व्यवहार क्षमायोग्य छैन । आज कार्यव्यस्तताले बैठक बस्न सकेनौँ, मंगलबार बैठक बसेर अस्पताललाई कारबाहीका लागि सरकारलाई पत्र पठाउनेछौँ,’ उनले भने ।

कार्यपालिकाबाट निर्णय गरेर चेक दिन्छौँ भन्दा पनि मानेनन्
खेमचन्द्र यादव, अध्यक्ष, बलानबिहुल गाउँपालिका

राति साढे १२ बजिसक्यो, हारगुहार गरिरहेका छौँ । अस्पताल बिलको ३० प्रतिशत छुट दिन तयार छ, तर बाँकी रकम नगद मागिरहेको छ । केही रकम मृतकका श्रीमान्ले तिरिसक्नुभएको छ । थप डेढ लाख उहाँले तिर्न खोज्दै हुनुहुन्छ । बाँकी हुने रकम गाउँपालिकाले तिर्छ, अहिले कागज गरेर शव दिनुहोस्, कार्यपालिकाको बैठक बसेर निर्णय गराई चेक दिन्छौँ भन्दा पनि नर्सिङ होमले मानेको छैन । अमानवीय व्यवहार भयो ।

सुझावित समाचार