पछिल्लो समयमा नेपाली खेलकुदको अवस्था कस्तो देख्नुहुन्छ ?
समग्रमा हेर्दा ठीकै देखिन्छ । तर, खेलका माध्यमबाट अन्तर्राष्ट्रिय जगत्मा देशलाई चिनाउने खेल क्षेत्रमा राज्यले पर्याप्त ध्यान दिएको देखिन्न । खेलकुदमा लागेका प्रत्येक व्यक्तिको सक्षमता विकासका लागि प्रतिस्पर्धाको वातावरण बनाउन लगानी आवश्यक पर्छ । विगतमा ओलम्पिक कमिटीलाई लिएर ठुला विवाद पनि सिर्जना गरियो । हस्तक्षेप गर्न खोजियो । तर, अहिले कम्तीमा ओलम्पिक कमिटीमा हस्तक्षेप गर्न सकिन्न भनेर सरकारले विश्वास गरेको देखिन्छ । यस वर्ष टेबलटेनिसमा छनोट चरण पार गरेर ओलम्पिकमा नेपाली खेलाडीको सहभागिता हुँदै छ । क्रिकेटमा पनि निकै राम्रो भइरहेको छ ।
सरकारको नीति तथा कार्यक्रमले नेपाली खेल जगत्लाई कति उत्साही बनाएको छ ?
अहिले नेपालमा क्रिकेट पपुलर गेम बनेको छ । त्यसैले, सरकारले लगानी पनि क्रिकेटमै बढी गरिरहेको छ । तर, यसले मात्र समग्र नेपाली खेल क्षेत्रको विकास हुन सक्दैन । बढीभन्दा बढी युवा सहभागी हुन सक्ने एथ्लेटिक्सलगायत खेलमा पनि लगानी जरुरी छ । हामीले सामूहिक खेलमा भन्दा व्यक्तिगत प्रतिस्पर्धा र ‘वेट गेम’ मा राम्रो गरिरहेको र गर्न सक्ने भएकाले त्यसतर्फ बढी ध्यान दिनु आवश्यक छ ।
आगामी दिनमा नेपाली खेलकुद क्षेत्रलाई माथि उठाउन के गर्नुपर्ला ?
सबैभन्दा पहिले पूर्वाधारमा लगानी हुनुपर्छ । खेलकुद विकासका लागि स्वस्थ वातावरण हुनुपर्छ । उच्चस्तरको प्रशिक्षण तथा निरन्तरको प्रयास र खेल गतिविधि जरुरी हुन्छ । यसका लागि विद्यालय, कलेज स्तरबाटै खेल गतिविधि अघि बढाउनुपर्छ । क्लब, एकेडेमी आदिलाई पनि प्रोत्साहित गरिनुपर्छ ।