दुईवटा समितिको सभापतिका लागि भने ७ जेठमा निर्वाचन हुने
बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झन्डै १५ महिनापछि चारवटा संसदीय समितिले नेतृत्व पाएका छन् । प्रदेश सभामा रहेका ६ मध्ये चारवटा संसदीय समितिले शनिबार सभापति पाएका हुन् । प्रदेश मामिला समितिको सभापतिमा कांग्रेसका छिरिङ दोर्जे लामा र सार्वजनिक लेखा समिति सभापतिमा श्रीराम लामिछाने, अर्थ तथा विकास समितिको सभापतिमा राप्रपाका नुरज बज्राचार्य र शिक्षा स्वास्थ्य तथा कृषि समितिमा माओवादीका ठाकुर ढकाल चयन भएका छन् ।
संसदीय समितिहरूको बैठकबाट सभापतिहरू सर्वसम्मत चयन गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । यसअघि बिहीबार नै दलहरूबीच कांग्रेसले दुई तथा एमाले, माओवादी, राप्रपा र एकीकृत समाजवादीले एक–एकवटा समितिको सभापति लिने सहमति भएको थियो । सोहीअनुसार शनिबार भएको निर्वाचन प्रक्रियाबाट चारवटा समितिमा सभापति सर्वसम्मत भएका हुन् । निर्वाचन तालिकाअनुसार शुक्रबार नै ती समितिमा एक–एकजनाको मात्रै उम्मेदवारी परेको थियो । सम्पूर्ण निर्वाचन प्रक्रिया पूरा गरेपछि समितिका ज्येष्ठ सदस्यहरूले निर्वाचित भएका सभापतिको नाम घोषणा गरेका थिए ।
प्रदेश सभामा बाँकी रहेका दुईवटा समितिको सभापतिका लागि भने ७ जेठमा निर्वाचन हुने भएको छ । बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले उद्योग पर्यटन तथा वातावरण समिति र प्रदेश विशेषाधिकार समितिको सभापतिको लागि सोमबार निर्वाचन हुने जानकारी दिए । त्यसका लागि प्रदेश सभा सचिवालयले निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरेको छ ।
यसअघि बागमती प्रदेश सभामा दलहरूबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमति हुन नसकेपछि एउटा समिति थप्ने सहमति भएको थियो । सोहीअनुसार शनिबार दिउँसो बसेको बागमती प्रदेश सभाको बैठकले प्रदेशमा प्रदेश विशेषाधिकार समिति गठन गरेको छ । यससँगै बागमती प्रदेश सभामा समितिको संख्या ६ पुगेको छ ।
प्रदेश सभा बैठकमा माओवादीका मुख्य सचेतक रत्नप्रसाद ढकालले संविधानको धारा १९३ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १६७ को उपनियम १ बमोजिम विशेषाधिकार समिति गठन गर्न बैठकमा गरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । उनको प्रस्तावमा कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्साल, एमालेका मधुसुदन पौडेल, राप्रपाकी कुमारी तामाङ र एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनालले समर्थन गरेका थिए ।