विगत लामो समयदेखि जीर्ण भवनमा रहेका शुभकालिका गाउँपालिका– ३ सञ्ज्यालबाडास्थित महादेव आधारभूत विद्यालयमा पक्की भवन बनेपछि विद्यार्थी खुसी भएका छन्।
पुरानो जस्तापाताले छाएको भवनमा सकसले बस्दै आएकी कक्षा आठकी छात्रा सिर्जना धिताल अहिले पक्की भवनमा बसेर पढ्न पाउदा फुरुंग छिन्। ‘जीर्ण भवनमा बसेर पढ्नुपर्दा डरैडरले गर्दा पढाइ बिर्सने र विद्यालय आउन पनि मन लाग्दैनथ्यो,’ उनले भनिन्।
बर्खामा कक्षाकोठाभित्र पानी चुहिँदा पढाइ नै प्रभावित हुने गरेको थियो। अहिले पाँचकोठे पक्की भवन निर्माण भएको छ। पक्की भवन निर्माणपछि विद्यार्थी खुसी भएका छन्।
‘नयाँ भवन पाएसँगै हामी उत्साहित छौँ, अब पढाइ प्रभावित हुँदैन,’ विद्यालयका प्रधानाध्यापक तुलाराम धितालले भने, ‘अब पढाइको स्तर पनि केही परिवर्तन हुनेछ र बर्खा तथा हिउँदमा कुनै समस्या झेल्नुपर्दैन। जीर्ण भवनमा विद्यार्थीलाई एउटै कक्षामा पढाउनुपर्दा विद्यार्थीको ध्यान पढाइमा भन्दा अन्यन्त्र जाने गर्थ्यो। निर्माण भएको भवनले विद्यार्थीको पढाइमा सुधार हुने अपेक्षा गरिएका छौँ।’
नयाँ भवनमा पढ्न पाएपछि सिर्जना मात्र होइन, कक्षा सातमा पढ्दै आएकी शीतला धिताल पनि खुसी छिन्। जीर्ण टहरामा कष्टका साथ पढ्दै आइरहेका उनीहरू पक्की भवन, शौचालयको सुविधासहितको सेवा पाएपछि पढाइमा सुधार हुने अपेक्षा राखिएको छ।
अब विद्यालयले खेलमैदान, खानेपानीको सुविधा तथा अन्य गतिविधिलाई नियमित सञ्चालन गर्ने हो भने सुनमा सुगन्ध थपिने अभिभावकहरूको आशा छ। निर्माण गरिएको विद्यालय भूकम्पप्रतिरोधी छ भने छात्रछात्रा र अपांगमैत्री शौचालयको पनि निर्माण गरिएको छ।
विद्यालय भवन निर्माणपछि पढाउन पनि सहज भएको शिक्षिका उर्मिला आचार्य धितालले बताइन्। ‘धेरै वर्षसम्म कष्टका साथ टहरामा पढायौँ,’ उनले भनिन्, ‘अहिले पाँचकोठे भवन निर्माण भएको छ, अब सहज हुनेछ।’ विद्यालयमा कम्प्युटर प्रयोगशालाको समेत निर्माण गरिएको छ। छाया नेपालको एक करोड सहयोग र गाउँपालिकाको २० लाख साझेदारीमा कुल एक करोड २० लाखमा विद्यालयको भवन तयार गरिएको हो।
छाया नेपालको आर्थिक सहयोग तथा स्थानीय तहको समन्वयमा विद्यालय भवन निर्माण भएको हो। शौचालयसहित पाँचकोठे भवन तयार भएको छाया नेपाल कर्णाली प्रदेशका टिमलिडर मीनबहादुर रावतले बताए।
छाया नेपालले कर्णालीका मुगु, कालीकोट, जाजरकोटमा दाताहरूको समन्वयमा भवन, सडक, खानेपानीलगायत पूर्वाधारको क्षेत्रमा काम गर्दै आएको छ।