राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. पोषराज पाण्डेलाई ३ प्रश्न

शुक्रबार, ४ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले सार्वजनिक गरेको १६औँ पञ्चवर्षीय योजनाको लक्ष्य कति व्यावहारिक देखिन्छ ?
हाम्रो आर्थिक वृद्धिको इतिहास हेर्ने हो भने अहिलेसम्मको औसत वृद्धिदर ४ प्रतिशतको हाराहारीमा देखिन्छ । त्यसैले, एकैपटक ७.१ प्रतिशत वृद्धिको लक्ष्यमा जाने हो भने त्यसलाई केले ‘ड्राइभ’ गर्ने हो ? अर्थात् त्यो लक्ष्यप्राप्तिको ‘ड्राइभिङ सेक्टर’ कुन हो ? भन्ने प्रस्ट केही आएको छैन । अथवा लक्ष्यप्राप्तिका लागि जे जे गर्ने भनिएको छ, त्यसका लागि स्रोत के हो, कहाँबाट जुटाउने हो र कसरी खर्च गर्ने हो भन्नेबारे पनि प्रस्ट योजना आएको छैन । ‘पोलिसी’ लाई ‘रिसोर्स’ले ‘सपोर्ट’ गरेको नदेखिनु यो योजनाको कमजोरी हो ।

 १५औँ योजना असफल भयो । आखिर हामी योजना निर्माणमा कहाँ चुकिरहेका छौँ ?
पन्ध्रौँ मात्र होइन, हाम्रा अधिकांश योजना सफल छैनन् । पञ्चायतमा बरु केही भयो होला । तर, त्यसयताका कुनै पनि योजना सफल देखिएका छैनन् । भन्ने वेलामा हामी ७ प्रतिशत वृद्धि भन्छौँ तर औसतमा ३ प्रतिशत पनि पुग्दैन । यसको मुख्य कारण राजनीतिक स्थायित्व नहुनु हो । हामीले अघिल्ला योजनाका असफलताबाट पाठ सिकेर सुधार गर्ने प्रयास गरेकै छैनौँ । हाम्रो योजना र बजेटबीच तालमेल पनि छैन । त्यसैले, हाम्रा योजनाहरू असफल भइरहेका हुन् । 

खासमा योजना निर्माण गर्दा कस्ता पक्षमा ध्यान दिनुपर्छ ?
सबैभन्दा पहिले विगतका असफलताबाट पाठ सिक्नुपर्यो । योजना बनाउँदै गर्दा राज्यको आन्तरिक क्षमता पहिचान गर्नुपर्यो । बाहिरबाट कति र कसरी सहयोग ल्याउन सकिन्छ, त्यसबारे पनि अध्ययन हुनु जरुरी छ । 

सुझावित समाचार