कोल्पुको पानी पिउन र सिँचाइका लागि अयोग्य

बिहिबार, ३ जेठ, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको फोहोरमैला विसर्जन गर्ने स्थान बन्चरेडाँडा भएर बग्ने कोल्पुखोलाको पानी पिउन र सिँचाइका लागि अयोग्य भएको अनुसन्धान प्रतिवेदनले देखाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको एक अध्ययनमा सो कुरा प्रमाणित भएको हो । 

अध्ययनले भूमिगत सतहको पानीमा फोहोरमैलाको प्रभाव नदेखिए पनि कोल्पुखोलाको पानीमा भने उल्लेख्य प्रभाव परेको जनाएको छ । साथै फोहोरमैलाबाट निस्कने लिचेड र पानीलाई निर्मलीकरण गरेर मात्रै खोलामा हाल्नसमेत प्रतिवेदनले सुझाव दिएको छ ।

फोहोरमैलाबाट निस्केको लिचेड खोलामा मिसिँदा कोल्पुखोलाबाट सिँचित हजारौँ रोपनी खेतीयोग्य जमिन मरुभूमिकरण हुने जोखिम प्रतिवेदनले औँल्याएको छ । गत वर्ष काठमाडौं महानगरपालिकाको फोहोरमैला प्रभावित क्षेत्रको अध्ययन प्रतिवेदन तयार गर्न जिम्मा पाएको नास्टले आफ्नो अध्ययन सकिएको लामो समयसम्म अध्ययन प्रतिवेदन सार्वजनिक भने गरेको छैन।

नास्टका एक उच्च अधिकारीले अध्ययन प्रतिवेदनको रिपोर्ट तयार भइसकेको र महानगरसँगको समन्वयबेगर सार्वजनिक गर्न नमिल्ने भएकाले आफूहरूले प्रतिवेदन सार्वजनिक गर्न नसकेको बताए । नास्टले ०८० मंसिर २२ गते नै मस्यौदा प्रतिवेदन महानगरमा बुझाएको भए पनि हालसम्म सो प्रतिवेदन सार्वजनिक हुन नसक्नु रहस्यको विषय हो । नास्टका अधिकारीले काठमाडौं महानगरका कारण प्रतिवेदन सार्वजनिक नभएको जवाफ दिए ।

फोहोर विसर्जन क्षेत्र नुवाकोटको ककनी गाउँपालिकाले पटकपटक प्रतिवेदन सार्वजनिक गर्न र प्रतिवेदनले दिएको सुझावअनुसार प्रभावित क्षेत्रको समस्या तत्काल सम्बोधन हुनुपर्ने भन्दै आएको छ । पालिकाले नास्टसँग प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पत्र नै पठाएको छ ।

सुझावित समाचार