‘ठेकेदार फेला पार्नुहुनेले पालिकामा बुझाइदिनुहोला’

काम अलपत्र पारी भागेका ठेकेदार फोटोसहित सूचना टाँसेर खोजिँदै

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

दैलेख सदरमुकामको खुर्सानीबारीदेखि नौमूले हुँदै जाजरकोटको जुनचाँदे जोड्ने रणनीतिक महत्वको सडक निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीले तोकिएकाे समयमा काम नगरेर सम्पर्कविहीन भएपछि दैलेखको नौमूले गाउँपालिका र राजनीतिक दलहरूले सडकमा ठेकेदार हराएको सूचना टाँसेर खोजीकार्य सुरु गरेका छन्।

कर्णाली प्रदेश सरकारअन्तर्गत विगत तीन वर्षदेखि खुर्सानीबारीदेखि नौमूले गाउँपालिकाको तोलीसम्म सडक कालोपत्रे जिम्मा लिएको बिरुवा सिद्धार्थ सिगेश्वर निर्माणका सीताराम शाहीको फोटो सडकमा टाँसेर खोजी अभियान सुरु गरिएको हो। उनको तस्बिरसहित फोन नम्बरसमेत राखेर अभियान थालिएको छ।

सूचनामा भनिएको छ, ‘हराएका ठेकेदार फेला पार्नुहुने महानुभावहरूले नौमूले गाउँपालिकामा बुझाइदिनुहोला।

तीन वर्षअघि सडक कालोपत्रे गर्ने भन्दै १९ करोड १७ हजारमा ठेक्का सम्झौता भएको थियो। ०७८ सालमा काम सुरु गरेको निर्माण कम्पनीले ८० सम्म काम सक्नुपर्ने पहिलो सम्झौता कार्यान्वयन भएन। 

पूर्वाधार विकास कार्यालय दैलेखले म्याद थप गरिदियो, थपिएको समयमा समेत निर्माण कम्पनीले प्रभावकारी काम गर्न सकेन। गत वर्ष र यो वर्ष आएको आठ करोड रकमसमेत फ्रिज भएपछि नौमूलेका स्थानीय मात्र हाेइनन् पालिका र राजनीतिक दलहरूसमेत आक्रोशित भएका छन्। हालसम्म कामको प्रगति ३० प्रतिशत मात्र भएको पूर्वाधार विकास कार्यालय दैलेखले जानकारी दिएको छ। निर्माण कम्पनीले सुरुको भुक्तानी चार करोड र पेस्की रकम करिब चार करोड गरेर आठ करोड रकम लिइसकेको देखिए पनि कामचाहिँ भनेअनुसारको नभएपछि स्थानीय आक्रोशित बनेका हुन्।

पूर्वाधार विकास कार्यालय दैलेखले तोकिएको समयमा काम सम्पन्न गर्न राष्ट्रिय पत्रिकामा समेत दुईपटक सूचना जारी गरिसकेको कार्यालय प्रमुख प्रभाकरप्रसाद सिंहले जानकारी दिएका छन्।

सडकमा सूचना टाँस गर्दै दैलेखको नौमूले गाउँपालिका– ६ सल्लेरीका वडाध्यक्ष लालबहादुर चन्दले जनताको प्रत्यक्ष सरोकार राखेको मुख्य सडक अलपत्र पार्ने निर्माण कम्पनीलाई पहिलोपटकको चेतावनीस्वरूप सडकमा ठेकेदार हराएको सूचना टाँस गरिएको बताए। अझै पनि अटेर गरेको खण्डमा जनता काठमाडौंमा गएर ठेकेदारलाई खोजेर ल्याउने र काम गराउने चन्दको भनाइ छ।

नौमूले गाउँपालिकाका एमालेका नेता शशिराम विकले बारम्बार ताकेता गर्दा पनि निर्माण कम्पनीले जनताको भावना नबुझेका कारण सूचना टाँस्न बाध्य भएको बताएका छन्। बर्सातको समयमा नौमूलेका नागरिक मात्र हाेइनन् आपतमा बिरामी पर्दा सुत्केरी महिलाहरूलाई समेत बोकेर हिँड्नुपर्ने बाध्यता नबुझेका कारण पहिलो चरणको आन्दोलन गरिएको बताए। पूर्वाधार विकास कार्यालयले पनि हचुवाका भरमा धेरै रकम दिएकोप्रति आक्रोश पोख्दै विकले यसको छानबिन सम्बन्धित निकायमा पुगेर गरिने बताएका छन्।

नौमूले गाउँपालिकाका माओवादी केन्द्रका अध्यक्ष सन्तोष चन्दले नौमूले सडक मात्र नभएर पालिकाभरिका विकासको जिम्मेवारी लिएका, तर समयमै काम नगर्ने जोकोही निर्माण कम्पनीलाई यसरी नै अभियानको थालनी गर्ने, खबरदारी गर्ने बताएका छन्। पहुँचका आधारमा केन्द्रमा नेता समातेर जनताको विषयलाई ओझेलमा पार्ने जोकोहीविरुद्ध सशक्त अभियान सञ्चालन गर्ने बताए।

नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले आफूहरूले बारम्बार काम सम्पन्न गर्न फोन गर्दा पनि निर्माण कम्पनीले सुनुवाइ नगरेको गुनासो गरेका छन्। जनता आन्दोलनमा उत्रेपछि मात्र निर्माण कम्पनीले सोमबार साँझ आफूलाई फोन गरेर तत्काल काम गर्न आउने बताएको सुवेदीको भनाइ छ।

See More On

सुझावित समाचार