सत्तारूढ एकीकृत समाजवादीले एमालेलाई दक्षिणपन्थी अवसरवादी चरित्र भएको पार्टीका रूपमा व्याख्या गरेको छ । आगामी महाधिवेशनमा प्रस्तुत गरिने अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमा संविधान र लोकतन्त्रलाई मास्न पनि बेर नलगाउने पार्टीका रूपमा एमालेलाई चित्रित गरिएको छ ।
व्यक्तिवादलाई विचार तथा संगठनको आधार बनाएको हुँदा एमालेको आन्तरिक सामूहिक जीवन तहसनहस भएको र बाह्य अभिव्यक्तिका रूपमा मुलुकको लोकतान्त्रिक प्रक्रियाका विरुद्धसमेत खडा हुने गरेको प्रतिवेदनमा उल्लेख छ । ‘एमाले दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी हो । यसको वर्ग अडान स्पष्ट छैन ।
दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी अवसरवादमा डुब्दै गएको छ । व्यक्तिवादलाई विचार तथा संगठनको आधार बनाएको हुँदा यसको आन्तरिक सामूहिक जीवन तहसनहस भएको छ र त्यसको बाह्य अभिव्यक्तिका रूपमा मुलुकको लोकतान्त्रिक प्रक्रियाका विरुद्धसमेत खडा हुने गरेको छ । विगतको व्यवहारलाई हेर्दा यसले आफ्नो स्वार्थका निम्ति संविधान र लोकतन्त्रलाई मास्न पनि बेर लाउँदैन भन्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
अर्को सत्तारूढ दल माओवादीप्रति भने राजनीतिक उपलब्धिको रक्षाका लागि तत्पर रहेकाले मित्रतापूर्ण सम्बन्ध रहेको प्रतिवेदनमा औँल्याइएको छ । ‘मित्रतापूर्ण सम्बन्ध छ । यसका कैयन् कार्यशैलीगत कमजोरीको मित्रवत् आलोचना गर्दै तिनलाई हटाउन जोड दिनुपर्छ,’ प्रतिवेदनमा उल्लेख छ ।
रास्वपा पुँजीपति वर्गचरित्रको पार्टी भएको तर दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट नभएको प्रतिवेदनमा औँल्याइएको छ । जसपा प्रजातान्त्रिक समाजवादी सिद्धान्त अँगालेको पार्टी भएको उनको निष्कर्ष छ ।
कांग्रेस नवउदारवादको पक्षपोषक
अध्यक्ष नेपालले कांग्रेसलाई पुँजीपति वर्गचरित्रको पार्टी भएको बताएका छन् । नवउदारवादको पक्षपोषक गर्ने कांग्रेसले केही हदसम्म दलाल पुँजीपति वर्गको समेत प्रतिनिधित्व गर्ने उनको दाबी छ । प्रजातान्त्रिक समाजवादको वकालत गर्ने र लोकतन्त्र प्राप्तिको संघर्षमा सकारात्मक भूमिका निर्वाह गरेको कांग्रेस संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको नेपालले औँल्याएका छन् ।
‘कांग्रेस पुँजीपति वर्गचरित्रको पार्टी हो । नवउदारवादको पक्षपोषण गर्ने यो पार्टीले केही हदसम्म दलाल पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ । प्रजातान्त्रिक समाजवादको वकालत गर्ने र लोकतन्त्र प्राप्तिको संघर्षमा सकारात्मक भूमिका निर्वाह गरेको यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको छ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ । राप्रपालाई नेपालले सामन्ती तथा दलाल नोकरसाही पुँजीपति वर्गचरित्रको पार्टीको संज्ञा दिएका छन् । समाजमा अवशेषका रूपमा रहेको सामन्ती पछौटे एवं लम्पट चिन्तनको प्रतिनिधित्व गर्ने नेपालले दाबी गरेका छन् ।