उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौं उपत्यकाका उद्योगहरूलाई बाहिर सार्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको ज्ञापनपत्र बुझ्दै उनले उपत्यकाको सौन्दर्यताका लागि सकेसम्म काठमाडौंका उद्योगलाई बाहिर सार्नुपर्ने बताएका हुन् ।
‘विकसित मुलुकमा सहरी क्षेत्रभन्दा टाढा छुट्टै स्थानमा उद्योग निर्माण गरिएका हुन्छन्, हामीकहाँ पनि सुरक्षित ठाउँमा औद्योगिक क्षेत्र निर्धारण गरेर त्यहाँ उद्योग निर्माण गर्नुपर्छ,’ उनले भने । क्षेत्र निर्धारण गरेर उद्योगका लागि चाहिने आवश्यक पूर्वाधार निर्माण गर्न सरकारको जिम्मेवारी भएको उनले बताए ।
अन्य मुलुकबाट कच्चा पदार्थ ल्याएर प्रतिस्पर्धा गर्न नसकिने उल्लेख गर्दै उनले यहाँ उत्पादन हुने वस्तुको बजार माग बढाउन विदेशी सामग्री प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए । महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठको नेतृत्वको टोलीसित मन्त्री भण्डारीले नेपालमा उत्पादन हुने सामग्री विदेशबाट आयात गर्दा भन्सार महसुल बढाउनुपर्ने धारणा राखे । उद्योग मन्त्रालयले भन्सार महसुल बढाउने विषयमा अर्थ मन्त्रालयसित समन्वय गर्ने प्रतिबद्धता जनाउँदै उनले व्यवसायीलाई अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन आग्रह गरे ।
साथै, मन्त्री भण्डारीले ग्रिल व्यवसायीलाई नयाँ प्रविधिमा आधारित विभिन्न सीप तथा तालिमका लागि मन्त्रालयबाट सहयोग रहने प्रतिबद्धता जनाए । महासंघले ग्रिल तथा स्टिल व्यवसायलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्ने वातावरण बनाइदिनुपर्नेलगायत विभिन्न सात बुँदासहितको ज्ञापनपत्र बुझाएको छ ।