३ प्रश्न एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षले संसद्मा गरिरहेको अवरोधलाई एमालेले कसरी हेरिरहेको छ ?
यो कांग्रेसले सत्ता छाड्नुपरेको पीडा अझै सकिएको छैन, त्यसबाट ऊ उम्किसकेको छैन भन्ने बलियो दृष्टान्त हो । सत्ताबाट बाहिरिनुको छट्पटीमा उसले संसद् अवरोध गरिरहेको छ । यो लोकतन्त्र र राजनीतिको स्थायित्वविरुद्ध खेलिएको खेल हो । 

सत्तापक्षका नाताले संसद् खुलाउन के गर्दै हुनुहुन्छ तपाईंहरू ?
सानो विषय उठाएर कांग्रेसजस्तो पार्टीले संसद् अवरोध गरिरहेको छ । उसले राखेको माग जायज छैन । यो सरकारलाई कमजोर बनाउने र अहिलेको गठबन्धन भत्काउने नियतले गरिएको अवरोधसिवाय केही होइन । लोकतन्त्रमा यस्ता सानातिना घटना भइरहन्छन् । यो नौलो पनि होइन । आज जसले जे भने पनि सहमतिमा नआई सुखै छैन । यस्ता घटनाले लोकतन्त्र र गणतन्त्रलाई खतरामा पार्न सक्छ । संसद् अवरुद्ध गर्ने कांग्रेसको कदम गलत भएकाले उसले त्यसलाई सच्याउनुपर्छ । त्यसका लागि हामी कांग्रेससँग संवाद गर्छौं । 

विगतमा यस्तै समिति बनाउन संसद् अवरोध गर्ने तपाईंहरू अहिले समिति बनाउन किन अनिच्छुक देखिनुहुन्छ ?
हाम्रो अवरोधपछि बनेको समितिले हाम्रो माग सही रहेछ भन्ने देखाइसक्यो । त्यसैको प्रतिवेदनका आधारमा मान्छेहरू समातिएका छन्, विभागीय कारबाहीमा परेका छन् । हामीले सही छानबिनका लागि उठाएको विषय थियो त्यो । तर, अहिले सिआइबीले पनि आरोपित नेताको संलग्नता देखिँदैन भनिसकेको छ । सत्ताबाट बाहिरिनुपरेको रिस यसरी कुनै नेतामाथि पोख्नु जायज होइन । यो अस्थिरता बढाएर सरकार र गठबन्धन तोड्ने नियतले उठाइएको माग हुनाले हामीले यसलाई अस्वीकार गरेका हौँ ।  

सुझावित समाचार