मंगलबारसम्म संसद्को गतिरोध अन्त्य हुन्छ : प्रधानमन्त्री दाहाल

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नै संसद्को गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग म संवादमा नै छु, भोलि बेलुका अथवा पर्सि बिहानसम्म संसद्को गतिरोध अन्त्य हुन्छ।’

प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएर आफूले राष्ट्रपतिलाई भेट गरेको जानकारीसमेत दिए। उनले भने, ‘आगामी जेठ १ मा राष्ट्रपतिले संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुन्छ। यसको तयारी पूरा भइसकेको छ।’

सरकारले नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिइसकेको जनाउँदै उनले राष्ट्रपतिको सम्बोधनमा संसदमा कुनै समस्या नहुने बताए। प्रधानमन्त्रीले भने, ‘कांग्रेस संसद्को यति धेरै वकालत गर्ने पुरानो पार्टीले राष्ट्रपतिको सम्बोधनमा असहज बनाउँछ भन्ने मलाई विश्वास लाग्दैन।’

कांग्रेसका नेताहरूसँग संसद् खुलाउने कुरामा गम्भीर रूपमा छलफल भइरहेको उनको भनाइ छ। सहकारीपीडितको समस्या समाधानका सन्दर्भमा उनले भने, ‘खासगरी गृहमन्त्रीले पनि समिति बनाउनेमा सैद्धान्तिक रूपमा विरोध गर्नुभएको छैन।’

आज बिहान आफूले कांग्रेसका नेताहरूसँग पनि सदन खुलाउने कुरामा छलफल गरेको प्रधानमन्त्री दाहालको भनाइ छ। सामान्यतया सबै समस्याग्रस्त सहकारीका बारेमा अध्ययन गरेर प्रतिवेदन दिने कुरामा सहमति भयो भने त्यसका लागि कोसिस गर्ने कुरामा सकारात्मक छलफल भएको उनले बताए।

सुझावित समाचार