बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले जनताको सुरक्षाका लागि ‘स्पष्ट योजना’विना इजराइलले गाजाको रफाह सहरमा आक्रमण गर्न नहुने बताएका छन्।
‘रफाहमा ठूलो आक्रमण हुनका लागि तपाईंले कसरी मानिसको जीवन बचाउनुहुन्छ, कसरी मानिसलाई सो स्थानबाट हटाउनुहुन्छ, उनीहरूलाई खुवाइएको कसरी सुनिश्चित गर्नुहुन्छ, उनीहरूसँग औषधि र आश्रय वा सबैथोक छ भनेर कसरी सुनिश्चित गर्नुहुन्छ भन्नेबारेमा स्पष्ट योजना हुन जरुरी छ,’ स्काई न्युज टेलिभिजनसँग मन्त्री क्यामरुनले भने, ‘हामीले यस्तो कुनै योजना देखेका छैनौँ, त्यसैले हामी यस्तो प्रकारको कुनै पनि आक्रमणको समर्थन गर्दैनौँ।’
पूर्वी रफाहलाई खाली गर्ने आदेश विस्तार गरेपछि इजराइलले आइतबार गाजामा हमासमाथि थप आक्रमण गरेको छ। सेनाले मानिसहरूलाई सहर छाड्न आग्रह गरेपछि तीन लाख प्यालेस्टिनी यस क्षेत्रबाट भागेको बताइएको छ।
सहरको पूर्वी क्षेत्रमा प्रवेश गर्नका लागि इजराइली सेनाले व्यापक अन्तर्राष्ट्रिय विरोधलाई अस्वीकार गरेको छ। उसले एउटा प्रमुख सहायता क्रसिङलाई प्रभावकारी रूपमा बन्द गरेको छ। दोस्रो क्रसिङमार्फत हुने यातायातलाई निलम्बन गरेको छ।
विदेशमन्त्री क्यामरुनले गाजामा मानवीय सहायतालाई अनुमति दिन इजरायलले ‘राम्रो गर्न’ आवश्यक भएको बताए। उनले भने, ‘मैले धेरैपटक भनेको छु, इजरायलले मानवीय सहायतालाई लिएर जुन कारबाही गरेको छ त्यसमा म सन्तुष्ट छैन।’ उनले सुधारको ‘केही संकेत’ भए पनि त्यो त्यति छिटो नभएको बताए।