संसदीय छानबिन समितिको मागबारे अब कांग्रेस सदनमा कसरी प्रस्तुत हुन्छ ?
हामी संसदीय छानबिन समितिको मागबाट पछि हट्दैनौँ । सदनलाई सुचारु गर्ने जिम्मेवारी सरकारको हो । लाखौँ मानिस ठगिएका र अबौँ रकम अपचलन भएको अवस्थामा निष्पक्ष छानबिनको माग राख्दा राज्यशक्तिको दुरुपयोग गरी गृहमन्त्रीले चुनौती थपेका छन् । प्रमाण नामेट पार्न र छानबिन टार्न प्रहरी र महान्यायधिवक्ता कार्यालयको समेत दुरुपयोग भइरहेको छ ।
कांग्रेस बजेट आउन नदिने अवस्थासम्म पनि जान तयार छ ?
बजेट अधिवेशनको समय छ । सदन सुचारु गरी केकसरी बजेट ल्याउने भन्ने सरकारको विषय हो । हामी मागबाट टसमस हुँदैनौँ । हामीले सोमबार संसदीय दलको बैठक फेरि बोलाएका छौँ । बैठकबाट कसरी अगाडि बढ्ने भन्ने टुंगो लाग्छ । हामीले गृहमन्त्रीको संलग्नताबारे प्रमाणसहित पेस गरेका छौँ । उहाँ जता छोप्नुहुन्छ, त्यतै भ्वाँङ परेको देखिन्छ । प्रधानमन्त्रीदेखि सरकारी वकिलसम्मको दुरुपयोग भएको छ । सबै आधारमा उहाँ प्रत्यक्ष दोषी देखिनुहुन्छ । नक्कली कागजातसमेत प्रस्तुत भएका छन् । गृहमन्त्री रहुन्जेल उहाँमाथि निष्पक्ष छानबिनको सम्भावना नदेएिकाले हामीले संसदीय छानबिन समिति मागेका हौँ ।
कांग्रेसको माग पूरा गर्न सरकार र सभामुख तयार देखिएका छैनन् नि ?
पेलेर जाने अवस्था आए त्यसको जिम्मेवार सरकार नै हुनुपर्छ । हामी सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि संसदीय छानबिन समितिमार्फत निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा अडिग छौँ । प्रतिपक्षी दलको भूमिकाप्रति हामी सचेत छौँ । सरकारले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।