कालिकोट शुभकालिका गाउँपालिका– ५ दल्लैचाखामा सिँचाइ पोखरी बनेपछि किसानलाई राहत भएको छ । सुक्खायाममा पनि दुई सय ४३ रोपनी खेत सिँचाइ हुने गरी पोखरी बनेको हो ।
स्थानीय वीरेन्द्रबहादुर शाहीले तरकारी खेती गर्ने सोच बनाएको बताए । ‘पहिले पानीको समस्या थियो । खेतमा पानी नलाग्ने भएकाले उत्पादन पनि हुँदैनथ्यो,’ उनले भने, ‘अब सजिलो भएको छ ।’ बर्खायाममा पानी सञ्चित गरेर सुक्खायाममा हिउँदे बाली उत्पादन बढाउने लक्ष्यका साथ सिँचाइ पोखरी निर्माण गरिएको शुभकालिका गाउँपालिकाका इन्जिनियर नरेन्द्रप्रसाद चौलागाईंले बताए ।
यो आयोजनाबाट ८१ घरपरिवार लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष सीता शाहीले बताइन् । कर्णाली प्रदेश सरकारको १५ लाख लगानीमा पोखरी निर्माण गरिएको हो । ४५ मिनेटको पैदल दूरीमा रहेको खोलाबाट पानी ल्याएर पोखरीमा जम्मा गरिएको छ ।