बाढीले पुरेपछि करिब डेढ दशकदेखि अतिक्रमणको चपेटामा परेको कैलालीको भजनी नगरपालिका– ७ स्थित पुरैना ताललाई पुरानै स्वरूपमा फर्काउने प्रयास थालिएको छ । तालको क्षेत्र रेखांकन गरेर वरिपरि साढे तीन किलोमिटर लामो माटोको डिल (ड्याम) निर्माण गरिएको छ । डिभिजन वन कार्यालय पहलमानपुरले भजनी नगरपालिकाको समन्वयमा ड्याम निर्माण गरेको हो ।
०६४ को बर्खामा मोहना नदीमा आएको बाढी पसेपछि ताल पुरिएको थियो । त्यसयता ताल रहेको क्षेत्रमा स्थानीयले अतिक्रमण गरेर खेती गर्दै आएका थिए । पुरैना तालको करिब पाँच सय ६३ बिघा क्षेत्रलाई ताल र सीमसारको स्वरूपमा फर्काउन लागिएको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरले जानकारी दिए । यो ताल अन्तर्राष्ट्रिय रूपमा समेत महत्वपूर्ण रहेको बसन्ता जैविक मार्गमा पर्ने भएकाले यसको संरक्षण र पुनस्र्थापना गर्न लागिएको उनको भनाइ छ ।
‘१० फिटसम्म उचाइको ड्याम बनाएका छौँ, बर्खामा पानी जम्मा भएपछि ताल बन्छ,’ ठाकुरले भने, ‘ताल बनाएर पर्यापर्यटनको विकास गर्ने योजना हो ।’ तालको दक्षिणतिर २० फिट चौडा भएको १० फिट अग्लो साढे दुई किलोमिटर तथा पूर्वतिर १० फिट चौडा र पाँच फिट उचाइको एक किलोमिटर लामो ड्याम निर्माण गरिएको उनले बताए । बसन्ता जैविक मार्गसँग जोडिएको यो तालको अतिक्रमण हटाउन डिभिजन वनले केही वर्षयता भजनी नगरपालिका, स्थानीय बासिन्दा, प्रशासनलगायत सरोकारवालासँग छलफल चलाउँदै आएको थियो । स्थानीय तहका जनप्रतिनिधि र जिल्ला प्रशासनले समेत ताललाई पुरानै स्वरूपमा फर्काउन चासो दिएपछि डिभिजन वनको आग्रहमा नापी कार्यालयको प्राविधिकको टोलीले हालै नक्साअनुसार रेखांकन गरेर तालको क्षेत्र छुट्याएको थियो ।
ताललाई पर्यटकीय गन्तव्य बनाइने
ताल निर्माण गरेर त्यसलाई पर्यापर्यटनको रूपमा विकास गर्ने योजना रहेको डिभिजन वन प्रमुख ठाकुरले बताए । ‘ताल बनेपछि पारिस्थितिक प्रणालीको विकास हुन्छ, पर्यटकीय क्षेत्र बन्छ,’ उनले भने, ‘जैविक विविधताको संरक्षण गर्दै पर्यापर्यटनको क्षेत्रका रूपमा विकास गर्ने योजना छ ।’ यसले स्थानीय समुदायलाई आयआर्जनसँग जोड्न सकिने उनले बताए ।
बसन्ता जैविक मार्ग र भारतीय दुधुवा नेसनल पार्क जोड्ने क्षेत्रमा पर्ने यो ताल जैविक विविधताका हिसाबले महत्वपूर्ण हुनुका साथै वन्यजन्तुका लागि समेत पानीको स्रोतका रूपमा थियो । स्थानीयका अनुसार कुनै समय यही बाटो भएर दुधुवा, बसन्ता हुँदै चुरेसम्म जंगली जनावर ओहोरदोहोर गर्थे । अहिले भने वन अतिक्रमणले दुधुवा र बसन्ताबीचको ‘कनेक्टिभिटी’ लगभग टुटेको छ । यो हात्ती, बाघलगायत वन्यजन्तु ओहोरदोहोर गर्ने मार्ग हो ।
वन्यजन्तु तथा जैविक विविधताका दृष्टिले महत्वपूर्ण रहेकाले पुरैना ताललाई तालकै स्वरूपमा फर्काउन आवश्यक रहेको भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले बताए । यो कार्यमा नगरपालिकाले आवश्यक सहयोग गरिरहेको बताए । वनले जिम्मा दिए ताललाई पर्यापर्यटीय क्षेत्रका रूपमा विकास गर्न नगरपालिका तयार रहेको उनको भनाइ छ । ‘यो ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना छ । यसबाट आयआर्जनसँग जोडेर स्थानीयको जीविकोपार्जन सुधार गर्न सकिन्छ,’ उनले भने, ‘तालको पुनस्र्थापना, संरक्षण र विकासमा आवश्यक सहयोग गर्छौँ ।’
बजेट अभावले यस वर्ष ताल क्षेत्रवरिपरि गाडी गुड्ने बाटो निर्माणलगायत काम गर्न नसकिएको डिभिजन वनले जनाएको छ । आगामी वर्ष बजेट माग गरेर ड्याम विस्तार गर्नुका साथै पाँच फिट उचाइको ड्यामलाई १० फिट उचाइको बनाइने भएको छ ।