- रामग्राममा साढे नौ बिघा क्षेत्रफलमा प्लान्ट, पाँच सयले रोजगारी पाउँदै
- वार्षिक पाँच हजार कार उत्पादन क्षमता, स्वदेशमै बन्ने भएपछि सस्तो हुने
- प्लान्टबाट पहिलो चरणमा कम्प्याक्ट एसयुभी ‘भेन्यु’ एसेम्बल, असोजमा दोस्रो मोडेल ग्रान्ड आइटेन र पुससम्म तेस्रो मोडेल क्रेटा एसेम्बल हुने
कोरियाली हुन्डाई मोटर्सका गाडी नेपालमै एसेम्बल सुरु गरिएको छ । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ग्रुपले नवलपरासीको रामग्राममा अत्याधुनिक एसेम्बली प्लान्ट सञ्चालनमा ल्याएको हो ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक समारोहबीच हुन्डाई मोटर्स एसेम्बली प्लान्ट उद्घाटन गरेका छन् । स्वदेशमै गाडी एसेम्बल सुरु भएसँगै देशमा औद्योगिक माहोल सिर्जना भएको प्रधानमन्त्री प्रचण्डले बताए । नेपाली अटोमोबाइल औद्योगिकीकरणमा हुन्डाई नेपालको योगदानबारे चर्चा गर्दै उनले नयाँ उद्योग सञ्चालनमा आएपछि स्वदेशी तथा विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न थप आकर्षित हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले स्वदेशमै गाडी एसेम्बलिङ गर्दा सयौँ दक्ष एवं अर्धदक्ष कामदारले रोजगारी पाउने बताए । साथै, उपभोक्ताले पनि सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउने उनको विश्वास छ । ‘स्वदेशमै उत्पादन सुरु भएपछि आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र जिडिपीमा समेत योगदान पुग्नेछ,’ उनले भने ।
प्लान्टबाट पहिलो चरणमा कम्प्याक्ट एसयुभी ‘भेन्यु’ उत्पादन गरिएको छ । अब स्वदेशमै उत्पादित भेन्यु बिक्रीका लागि उपलब्ध हुनेछन् । यही असोजमा दोस्रो मोडेल ग्रान्ड आइटेन र पुससम्म तेस्रो मोडेल क्रेटा एसेम्बल सुरु हुने लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक नीराकार श्रेष्ठले बताए । उनले भने, ‘सन् २०२४ अन्त्यसम्म हुन्डाईका तीनवटा मोडेल स्वदेशमै एसेम्बल हुनेछन्, त्यसवेलासम्म पाँच सयले रोजगारी पाउनेछन् ।’
पछिल्लो समय मन्दीका कारण सञ्चालनमा रहेकै उद्योगहरू बन्द भइरहेका र उद्योगी–व्यवसायीमा समेत चरम निराशा छाइरहेका वेलामा लक्ष्मी मोटर कर्पोरेसनले ठूलो लगानीमा एसेम्बली उद्योग सञ्चालनमा ल्याएको हो । यसले निराशाबीच आशालाग्दो वातावरण बनाउने अपेक्षा गरिएको छ ।
१० बिघामा एसेम्बली प्लान्ट, वार्षिक पाँच हजार कार उत्पादन हुने
रामग्राम नगरपालिकामा साढे नौ बिघाभन्दा बढी क्षेत्रफलमा हुन्डाई मोटर एसेम्बली प्लान्ट सञ्चालनमा ल्याइएको हो । जहाँ १४ हजार वर्गमिटर क्षेत्रफलको भव्य संरचना खडा गरिएको छ । नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानी गर्ने दृढताको उदाहरण भएको लक्ष्मी मोटर्स कर्पोरेसन (एलएमसी)ले जनाएको छ । यो एलएमसी लक्ष्मी ग्रुपको सहायक कम्पनी हो ।
अत्याधुनिक एसेम्बली प्लान्टको पाँच हजार इकाइ वार्षिक उत्पादन क्षमता रहेको छ । जहाँ हुन्डाई मोटर कम्पनी (एचएमसी)का सबै मापदण्डहरूको पालना गर्दै गाडी उत्पादन गर्ने बताइएको छ । एचएमसीको प्राविधिक पर्यवेक्षणमा एलएमसीले निर्माण गरेको प्लान्टमा उत्पादित हरेक सवारीसाधनमा सुरक्षा र उच्चतम गुणस्तर सुनिश्चित हुने कम्पनीको भनाइ छ । कम्पनीले कम्प्लिट नकडाउन ‘सिकेडी’ (पूर्ण रूपमा विभाजित पार्टुपुर्जा) ल्याएर अत्याधुनिक एसेम्बल प्लान्टबाट गाडी तयार गर्ने जनाएको छ ।
हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक तथा सिइओ उन्सु किमले परासीमा स्थापित नयाँ हुन्डाई मोटर एसेम्बली प्लान्टमा ग्राहकको सन्तुष्टिका लागि उन्नत प्रविधि र सीप हस्तान्तरणबारे जानकारी गराए ।
हुन्डाईका गाडी नेपालमा लोकप्रिय मानिन्छन् । अहिले नेपाली बजारमा हुन्डाईका एम्बुलेन्ससहित १२ मोडेलका गाडी उपलब्ध छन्, जसमध्ये कोना र आयोनिक फाइभ विद्युतीय कार हुन् । निकट भविष्यमै भेन्यु पनि विद्युतीय भर्सनमै ल्याउने कम्पनीको तयारी छ । अहिले भेन्यु विभिन्न पाँच भेरियन्टमा उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले सन् २०२४ मोडेलको भेन्युको मूल्य ४१ लाख ९६ हजारदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म राखेको छ । नेपालमै एसेम्बल भएपछि भेन्युको मूल्य पनि घट्ने अपेक्षा गरिएको छ । तर, कम्पनीले मेड इन नेपाल ‘भेन्यु’को मूल्यबारे शनिबार मात्र जानकारी गराउने जनाएको छ ।
अहिले नेपालमा हुन्डाईका १६ सोरुम, १९ सेवा केन्द्र र नेपालभर ४५ भन्दा बढी चार्जिङ प्वाइन्ट रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।
सरकारले स्वदेशमै एसेम्बली उद्योग खोल्नेलाई प्रोत्साहन गर्ने नीति लिएपछि व्यवसायीहरू उत्साहित भएका छन् । सिजी होल्डिङ्सले पनि मारुती–सुजुकी गाडी एसेम्बल गर्न उद्योग दर्ता गरिसकेको छ । सरकारले स्वदेशमै गाडी एसेम्बल गर्ने उद्योगलाई सिकेडी आयात गर्दा भन्सारमा २५ प्रतिशत, अन्तःशुल्कमा ५० प्रतिशत र आयकरमा पनि छुट दिएको छ । बजेटमार्फत नै करमा सहुलियत दिएपछि स्वदेशमै सवारीसाधन एसेम्बल गर्ने माहोल बनेको हो ।
लक्ष्मी ग्रुपले स्वदेशमै हुन्डाई गाडी एसेम्बल गर्न ०७६ मा उद्योग दर्ता गरेको थियो । कोरोना महामारी र लगत्तै सिर्जना भएको मन्दीका कारण प्लान्ट सञ्चालनमा ल्याउन ढिलाइ भएको हो । अहिले हुन्डाई नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने एक मात्र कम्पनी बनेको छ ।
यसअघि मोटरसाइकल, स्कुटरको पनि उत्पादन
नेपालमा दुईपांग्रे मोटरसाइकल तथा स्कुटरका एसेम्बली प्लान्ट आठवटा पुगेका छन् । बजाज, टिभिएस, रोयल इन्फिल्ड, यामाहा, होन्डा, हिरो, सिएक्स र यात्रीले स्वदेशमै मोटरसाइकल तथा स्कुटर एसेम्बल गरिरहेका छन् । सिएक्स र यात्रु नेपाली ब्रान्ड हुन्, जसमध्ये सिएक्स अफरोड बाइक र यात्री विद्युतीय मोटरसाइकल हो ।
बजाज र टिभिएसको प्लान्टमा तीनपांग्रे रिक्सासमेत उत्पादन हुँदै आइरहेको छ । मन्दीकै बाबजुत पनि दुईपांग्रे सवारीसाधनका एसेम्बली प्लान्ट भने धमाधम खुलिरहेका छन् । नेपालमा अर्बौँ लगानी गर्ने गरी दुई दर्जनभन्दा बढी सिकेडी एसेम्बली प्लान्ट दर्ता भइसकेको उद्योग विभागको तथ्यांक छ ।
मुस्ताङ म्याक्सको दु:खद कथा
गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास मोटर्सले स्वदेशी ब्रान्डमा ०५४ सालमै चारपांग्रे डिजेल जिप उत्पादन थालेको थियो । ‘मुस्ताङ म्याक्स’ र ‘मुस्ताङ भिटु’ निकै चर्चित थिए । अझ तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वदेशमै बनेको मुस्ताङ म्याक्स चढेपछि ठूलो प्रचार पाएको थियो । एक समय दुर्गम क्षेत्रमा जहाँ सडक पुग्यो, त्यहाँ मुस्ताङ म्याक्स पहिला पुग्ने गथ्र्यो । कम्पनीले अर्को मोडेल ‘हुलास ब्राभो’ पनि डिजाइन गरेको थियो । मुस्ताङ गाडी युरो–१ मापदण्डका थिए । तर, सरकारले ०६९ मा युरो–१ बाट सीधै युरो–३ मापदण्डमा जाने निर्णय गर्यो । यो मापदण्ड पालनाका लागि हुलास मोटर्सले समय पनि मागेको थियो । तर, सरकारकै अटेरीका कारण ०७० मा चर्चित नेपाली ब्रान्ड सदाका लागि बन्द भयो ।