इस्मा गाउँपालिका– ४ कोटकोटरी पुतलीबजारका ४० वर्षीय बलबहादुर दर्जी ‘ख’ वर्गको अपांग हुन् । शरीरका अधिकांश भाग जलेका छन् । ०४३ सालमा घरमा आगो लाग्यो । त्यसवेला बलबहादुर तीन वर्षका थिए । बाल्यावस्थामा जलेर बेहाल बनेका दर्जीलाई बाँचेर फर्किएला भनेर कसैले भनेका थिएनन् ।
जापान सरकारको सहयोग पाएर मात्रै भाग्यले बाँचेका हुन्, बलबहादुर । निकै तड्पिएर तीन वर्ष अस्पताल बसे । जेनतेन आशा बोकेर घर आएपछि संघर्षले नै जीवनका ४० वर्ष कटाए । तर, यही ८ वैशाखको डढेलोले फेरि उनको घरगोठ जलेर लाखौँको धनमालमा क्षति गर्यो । उनले भागेर ज्यान मात्रै बचाए । घरगोठसँगै दुईवटा लुगा सिलाउने, एउटा काठ काट्ने मेसिन र पन्चेबाजा सेट जलेर नष्ट भए ।
‘गरिबमाथि दैव पनि निष्ठुरी देखेँ । पहिले पनि भाग्यले बाँचेँ, अहिले शरीरको कपडाबाहेक केही रहेन,’ उनले भने, ‘गरिखाने सबै जले, बर्खाअघि घरमा बस्न पाए हुन्थ्यो ।’ उनले पटक–पटकको चोटले बेचैन बनाएको गुनासो सुनाए ।
केही वर्षअघि रुखबाट लडेपछि इस्मा गाउँपालिका– १ का ७२ वर्षीय टीकाबहादुर रायमाझीको दुवै खुट्टा चल्दैनन् । बुढेसकालमाथि थपिएको अपांगताको पीडा छँदै थियो । गत ८ वैशाखमा अर्को बज्रपात पर्यो । ‘जहाँ होचो त्यहीँ घोचो’ भन्ने नेपाली उखानजस्तै उनलाई आगलागीले फेरि बेसहारा बनाएको छ ।
उनी त्यो दिन घरमै थिए । तलबाट आगो एक्कासि घरनजिक आयो । खुट्टा नचल्ने भएकाले भाग्ने उपाय नै थिएन । हेर्दाहेर्दै आँखैअगाडि घरगोठ जल्न थाले । उनले वेगको हावा र आगो आफैँतिर खनिएपछि बारीमा पल्टिएर ज्यान जोगाए ।
‘पहिले लडेपछि अपांग भएर बाँचेको छु । अहिले आगोले कसाे खाएन,’ उनले भने, ‘अन्यत्र जान सकिँदैन, आगोको पीडामाथि बर्सातको सास्ती खेप्न नपरोस् भगवान् भनेर पालमा बसेको छु ।’
इस्मा गाउँपालिका– ४ कोटकोटेरीका सुरेन्द्रलाल विक गाउँका व्यापारी हुन् । उनले किराना र फेन्सी पसल गर्थे । आगोले घरसहितका पसल जलेर नष्ट भए । परिस्थितिले हिजो किराना र कपडा बेच्ने सुरेन्द्र आज दातासँग दाल, चामल र कपडा थाप्ने भएका छन् । उनले पनि बर्सात सुरु हुनुअगाडि नै स्थायी आवासको माग गरे ।
त्यस्तै, जंगलको डढेलो बस्ती पसेपछि इस्मा गाउँपालिका– २ हस्तिचौरका चन्द्रबहादुर कुँवरको घरगोठ जल्यो । उनले व्यावसायिक रूपमा कुटानी–पिसानीको मिल र बाख्रापालन गर्दै आएका थिए । तर, आगोले क्षणभरमा मिल र नौवटा बाख्रा खरानी भए । कुँवरलाई पनि डढेलोको कहरमा बर्सातको नै डर छ ।
इस्मामा आगलागीबाट एक सय ९९ व्यक्ति प्रभावित भएका छन् । प्रारम्भिक चरणको राहत र उद्धारको काम सकिएको छ । २६ घर, ४९ गोठ र १९ परिवारको गोठ मात्रै जलेको छ । एकै परिवारका तीन गोठसमेत जलेका छन् । जंगलको आगो बस्ती पसेपछि इस्मा गाउँपालिका– २ सिदुंखाका १६, वडा नम्बर कोटकोटेरी र मड्किनाका नौ परिवारको बिचल्ली भएको छ । दर्जनौँ गोठ, पशुचौपाय र पसल र मन्दिरहरू जलेर नष्ट भएका छन् ।
शीतलको पुरस्कार जलेपछि...
इस्मा गाउँपालिका– ४ कोटकोटेरीकी ९ वर्षीया शीतल अधिकारी चन्द्र आधारभूत विद्यालयमा पढ्छिन् । ‘बधाई छ मेरो मुटुको ढुकढुकीलाई कक्षा ४ बाट प्रथम स्थान हासिल गरी कक्षा ५ मा प्रवेश गरेकोमा ।’ यो छोरीले प्रथम स्थान प्राप्त गरेर पुरस्कार प्राप्त गरेपछि आमा विमला अधिकारीले ३० चैतमा खुसीले फेसबुकमा लेखेको स्टाटस हो ।
आफ्ना सन्तानको सफतामा सबैभन्दा बढी आमा खुसी हुन्छिन् । त्यसैमाथि शीतल आफैँ खुसी नहुने कुरै भएन् । बाल्यकालमा पाएको स्याबासी, ताली, अबिरको त कैयौँ महत्त्व छ । अझ प्रथम स्थान प्राप्त गरेर पाएको पुरस्कारमा परिवार र शीतल औधी खुसी थिए । तर, खुसी एक सातामै गुम्यो ।
८ वैशाखको आगलागीले घरसँगै शीतलका पुरस्कार जले । त्योसँगै किताबकापी, पोसाक र सबै चिज गुम्यो । घर सम्पत्ति जलेको पीडासँगै छोरीको खुसी लुटिएपछि विमलालाई सहिनसक्नु पीडा भयो । ‘छोेरीले पुरस्कार जल्यो भन्दा दिने जवाफ मसँग थिएन । तैपनि जल्न त के नै बाँकी थियो र !’ आमा विमलाले भनिन्, ‘दैवले बेसहारा बनायो ।’ आगलागीले घर जलेपछि इस्माका ३१ जना विद्यार्थी प्रभावित बनेका छन् ।
स्थायी आवासका लागि प्रतिपरिवार पाँच लाख
आगलागीबाट सबैभन्दा बढी क्षति भएको इस्मा गाउँपालिकाले अग्निपीडित परिवारका लागि प्रतिपरिवार एक लाख दिने निर्णय गरेको छ । तत्काल आवास निर्माण गर्न गाउँपालिकाबाट एक लाख र पछि प्रदेश तथा संघसँगको साझेदारीमा चार लाख उपलब्ध गराउने इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिए । अहिले खानेपानी र विद्युत् सञ्चालन, राहत वितरण, राहत संकलन तथा भग्नावश्यक हटाउनेलगायतका काम भइरहेको खड्काले बताए ।
अहिलेसम्म जिल्लाका विभिन्न पालिकामा गरेर डेढ सय घरगोठ जलेका छन् । हावाहुरी र गर्मी बढेसँगै आगलागीका घटना घटेका छैनन् । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले अहिलेसम्म पूर्ण क्षति भएका ६१ घरपरिवारलाई लाभग्राही कायम गरेर अस्थायी आवास निर्माणका लागि प्रदेश र संघमा सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।