प्रायः सांस्कृतिक र सांगीतिक कार्यक्रमले भरिने टुँडिखेलमा बुधबार भने भिन्नै रौनक थियो । यहाँ न त कुनै सांस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो न सांगीतिक कन्सर्ट नै । तर, पनि बिहानैदेखि भिडभाड थियो । यो जमघटको अवसर जुटाएको थियो काठमाडौं महानगरपालिकाले । महानगरले आयोजना गरेको सीप मेलामा सयौँ युवायुवती रोजगारी पाइने आशा बोकेर टुँडिखेल पुगेका थिए ।
यस्तै, आशा बोकेर टुँडिखेल पुग्ने सयौँमध्ये एक थिए सर्लाहीका चन्दनकुमार राय यादव । उनी डिप्लोमा इन सिभिल इन्जिनियरिङ अन्तिम वर्षको परीक्षा दिएर बसेका रहेछन् । परीक्षा सकिएसँगै उनीसँग दुई विकल्प छन्, विदेश जाने वा यतै बसेर रोजगारी गर्ने । यतै बसेर रोजगारी गर्ने भन्दै धेरै ठाउँमा भौतारिसकेका उनी अन्ततः काठमाडौं महानगरले सञ्चालन गरेको सीप मेलामा आइपुगेका रहेछन् । मेलाले उनको रोजगारी तय गर्यो भने उनी नेपालमै बस्नेछन् । ‘परीक्षा दिइसकेपछि जागिरका लागि विभिन्न ठाउँ पुगेँ । तर, पाउन सकेको छैन । फेसबुकमा मेयर बालेन साहको पोस्ट देखेर यहाँ आएको हुँ,’ उनले भने, ‘तालिमपछि रोजगारी पाइयो भने यतै बसेर केही गर्ने हो ।’ उनले निर्माण क्षेत्रअन्तर्गत इलेक्ट्रिसियन र प्लम्बिङका लागि फाराम भरेका छन् ।
दुधेबालक च्यापेर मेलामा आएकी २८ वर्षीया यसोमती चुनारा पनि नि:शुल्क तालिम पाइने भन्ने सुनेर आएको बताउँछिन् । अहिलेसम्म कुनै काम नगरेकी उनलाई पनि आत्मनिर्भर बन्ने रहर छ । सिलाइकटाइ तालिम लिन आएकी उनी तालिम पाइने हो वा होइन भन्ने अलमलमा थिइन् । ‘साथीहरूले भनेको सुनेर आएकी हुँ । तालिम पाए त केही गर्न हुन्थ्यो,’ उनले भनिन् ।
रामेछापका रोशन गौतम काठमाडौं आएको १२ वर्ष हुनलागिसक्यो, तर भनेजस्तो रोजगारी पाउन सकेका थिएनन् । आफ्नै केही गर्ने इच्छा भएका उनलाई महानगरको तालिमले राहत दिनेमा ढुक्क छन् । ‘तालिमको अवसर पाउन लागेकोमा खुसी लागेको छ,’ उनले भने । उनले हस्पिटालिटी एन्ड म्यानेजमेन्ट विधाअन्तर्गत वारिस्ता, फुड एन्ड कुकका लागि फाराम भरेका छन् । तालिम लिन पाए त आफ्नै फास्टफुड व्यवसाय गर्न मन रहेको उनले बताए ।
अछामकी जस्टिना थापा मगरले पनि सामाजिक सञ्जालमार्फत रोजगार मेलाबारे जानकारी पाइन् । स्नातक तहमा पढ्दै गरेकी उनले ब्युटिसियन (सौन्दर्य कला)अन्तर्गत मेकअप आर्टको तालिम लिनका लागि फाराम भरेको बताइन् । ‘ब्याचलर जोइन गरेर यत्तिकै बसिरहेकी छु । तालिमपछि काम त कसो नपाइएला,’ जस्टिनाले भनिन् । उनीहरूजस्ता सयौँ युवायुवतीलाई बुधबारदेखि टुँडिखेलमा सुरु भएको ‘सीप मेला–०८१’ ले आशा जगाएको छ । दुई हजार ८१ जनालाई नि:शुल्क सीपमूलक तालिम दिने र तालिम लिएकाहरूलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्यसहित मेला सुरु गरेको महानगरले जनाएको छ ।
मेलामा सूचना प्रविधिदेखि पुरोहित र ज्योतिषसम्बन्धी तालिम
मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । यी क्षेत्रभित्र २९ प्रकारका पेसागत तालिम छन् । तालिममध्ये अटोमोबाइल्स एउटा क्षेत्र हो । यसभित्र अटोइलेक्ट्रिक, अटोएअर कन्डिसन, मोटरबाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) विषय छन् । दोस्रो निर्माण क्षेत्र, यसमा सिकर्मी, टाइल एन्ड मार्बल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ तालिम हुनेछ । तेस्रो हस्पिटालिटी एन्ड म्यानेजमेन्ट विधा हो । यसअन्तर्गत यसमा बारिस्ता, फुड एन्ड कुक, बेकरी, बार टेन्डिङ र वेटर/वेट्रेस प्रशिक्षण हुनेछ । सूचना प्रविधि (इन्फरमेसन एन्ड टेक्नोलोजी) चौथो क्षेत्र हो । यसमा डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, कम्प्युटर हार्डवेयर एन्ड नेटवर्किङ, सिसिटिभी क्यामरा विषय राखिएका छन् ।
उपमेयर सुनिता डंगोल भन्छिन्– विगतका भन्दा अहिलेको तालिम फरक छ
विगतका भन्दा यसपटकको तालिम फरक विशेषता छ । विगतमा यस्ता धेरै तालिम भए, तर जनशक्ति आवश्यक पर्ने ठाउँमा सीपयुक्त जनशक्तिको सधैँ अभाव रह्यो । तालिम दिनेले दिँदैमा र लिनेले लिँदैमा नतिजा नआउनेरहेछ । विगतको यो अभ्यासलाई सुधार गर्दै यसपटक तालिमलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ सँग जोडेका छौँ । अत्यधिक युवायुवतीको उपस्थितिले हामीलाई थप जिम्मेवारसमेत बनाएको छ ।