इलाम २ उपनिर्वाचन : मैदानमा २० उम्मेदवार, महिला शून्य

आइतबार, २५ चैत, २०८०
डिजिटल संस्करण

आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनेमा महिलाको संख्या शून्य देखिएको छ।

शुक्रबार २० जना उम्मेदवारले मनोनयन दर्ता गराउँदा सबै उम्मेदवार पुरुष मात्र छन्। १२ दल र आठ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन गर्दा कोही पनि महिलाको उम्मेदवारी परेन।

विभिन्न दल र स्वतन्त्र उम्मेदवार पञ्चेबाजा र र्यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए।  ठूला राजनीतिक दलहरूको उम्मेदवार छनोटमा महिला प्राथमिकतामा नपर्ने गरेकोप्रति महिला अधिकारकर्मीले गुनासो गरेका छन्।

‘महिलालाई सधैँ पछि पार्ने चलन छ,’ इलामकी महिला अधिकारकर्मी गायत्री थेगिमले भनिन्, ‘इलामको उपनिर्वाचनमा महिलाको उम्मेदवार शून्य हुनुले नेतृत्व तहमा महिला सहभागिता ओझेलमा रहेको प्रस्ट पारेको छ।’

झापा बिर्तामोडनिवासी महिला अधिकारकर्मी भीमा सिवाकोटीले महिलाको अधिकार पुस्तकमा मात्र समेटिएको र व्यवहारमा अवसर नदिने प्रचलन रहेको बताए।

नेकपा एमाले र नेकपा ओवादी केन्द्र साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्वाङलाई मैदानमा ल्याएका छन्।

सुहाङलाई नेपाल कम्युनिस्ट पार्टीलेसमेत समर्थन गरेको छ।  कांग्रेसबाट डम्बरबहादुर खड्काले उम्मेदवारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर  किसान पार्टीका श्यामबहादुर दर्जी, मंगाेल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, एकीकृत समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन्। 

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराए । स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, केशवकुमार चापागाईं, दीपेश बोहरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकिसकेको छ। इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन्। यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन्। निर्वाचन आयोगका अनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ।

चैत २८ देखि वैशाख १२ गते सम्म प्रचारको अवधि राखिएको छ। वैशाख १५ गते बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदान समय तोकिएको छ। संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

सुझावित समाचार