यसरी बन्न सक्छ यथार्थपरक बजेट

बजेटलाई वास्तविक बनाउन ठूलो विज्ञता चाहिँदैन, इमानदार सोच र त्यसलाई कार्यरूप दिने तत्परता भए पुुग्छ

शुक्रबार, १६ चैत, २०८०
डिजिटल संस्करण

आर्थिक वर्ष ०७८/७९ का लागि १६४८ अर्बको बजेट तर्जुमा गरिएको थियो । बजेट प्रस्तुत गरिएको केही समयपछि सरकार बदलियो र नीति तथा प्राथमिकता परिवर्तन नगरी १६ अर्बको आकार घटाई १६३२ अर्ब कायम गरियो । आव ०७९/८० का लागि १७९३ अर्बको बजेट तर्जुमा गरिएकामा मध्यावधि समीक्षामा करिब २०० अर्ब घटाई संशोधित अनुमान कायम गरियो । चालू आव ०८०/८१ का लागि १७५१ अर्बको बजेट तर्जुमा गरिएको थियो, जसलाई मध्यावधि समीक्षाका समयमा करिब २२५ अर्ब घटाइयो ।

कार्यान्वयनपश्चात् मूल्यांकनमा अघिल्ला दुुई आर्थिक वर्षका बजेटमा करिब दुुई सय अर्ब रुपैयाँजति न्यून देखिएको थियो । चालू आवको बजेट पनि यही प्रवृत्तिको अपवाद नबन्ने संकेत हालसम्मका खर्च तथा प्राप्तिका आँकडाले दिएको छ । संसद्ले स्वीकृत गरेको बजेटमाथि कार्यकारिणीले ठूलो संशोधन गर्न पाउँछ कि पाउँदैन भन्ने बहसको विषय हुन सक्छ । तर, मन्त्री मात्रको परिवर्तनले बजेटका सिद्धान्त तथा प्राथमिकतामा सामान्य परिवर्तन हुनु स्वाभाविक भए पनि उही संयन्त्र र प्रणालीमा आकारमा व्यापक फेरबदल हुने अवस्था रहनुले बजेट तर्जुमाको संरचनात्मक पक्षमा आमूल परिवर्तनको खाँचो देखिन्छ । 

बजेटलाई वास्तविक बनाउनुु भनेको सामाजिक वास्तविकतामा आधारित नीति तथा कार्यक्रम ल्याउनु हो । समाजका जल्दाबल्दा आवश्यकतालाई सम्बोधन गर्न सरकार र सरकारी संरचनाबाहिरका पात्र परिचालित हुने अवस्था सिर्जना गर्नु हो । गरिबी घटाउनु र उत्पादनशील रोजगारी सिर्जना गर्न पुँजी र प्रविधि केन्द्रित गरी आर्थिक गतिविधि बढाउनु हो ।

सरकार, निजी तथा सामुुदायिक, सहकारी क्षेत्र र नागरिक तहमा रहेको सम्भावना परिचालन गरेर नै सामाजिक वास्तविकतालाई सम्बोधन गर्न सकिन्छ । पछिल्ला वर्षका बजेटले सरकारी संरचनाबाहिरका पात्रलाई मात्र परिचालन गर्न नसकेको होइन, सम्बन्धित निकायबाट गरिएको प्रतिबद्धताअनुरूप पनि खर्चसमेत हुन नसकेको देखिन्छ ।

आफैँले संकलन गर्छु भनेको राजस्व संकलन हुन सकेको छैन । विकास साझेदारले प्रतिबद्धता जनाएको अनुदान र प्राविधिक तहमा पर्याप्त अभ्यास गरेर लिइएको ऋण पनि खर्च गर्न र शोधभर्ना लिन सकेको देखिँदैन । यी तथ्यबाट बजेट व्यवस्थापनको सामथ्र्यबाट सरकार बाहिरिँदै गएको त होइन भन्ने प्रश्न उठ्न सक्छ । 

बजेट वास्तविक नहुँदा समृद्धि तथा रूपान्तरणको यात्रा निरन्तर पछि धकेलिएको छ र जनमानस, विशेषतः युवामा आशाभन्दा निराशा बढ्दै गएको छ । आन्तरिक अर्थतन्त्र उदीयमान छिमेकी अर्थतन्त्रको छायामा पर्दै छ । 

बजेटका अन्तरवस्तुुको विश्लेषण गरौँ । नेपालको बजेट व्यवस्थापन व्यहारमा कोष व्यवस्थापनको आशयबाट प्रेरित छ । सरकारी खर्चलाई कोष बन्दोबस्ती गर्नुलाई नै बजेट भन्ने गरिएको छ । कोष व्यवस्थापन वा ‘मेनेजमेन्ट अफ मनी’ सजिलो कुरा हो । असीमित आवश्यकता भएको समाज र लोकतन्त्रका अवसर निर्माण तथा वितरण गरी आर्थिक–सामाजिक रूपान्तरण गर्नु दायित्व रहेको शासकीय व्यवस्थामा बजेटले शास्त्रीय आशय पूरा गरेर मात्र पुुग्दैन । निकोलस हेनरीले भनेझैँ बजेट एक वर्षको आर्थिक दर्शन, राजकीय तथा सामाजिक स्रोत परिचालन गर्ने नीति तथा प्राथमिकता र सरकारले सम्पादन गर्ने कार्यका लागि स्रोतको भरपर्दो व्यवस्थापन हो । साथै बजेटका केही महत्वपूर्ण संयन्त्रात्मक भूमिका पनि हुन्छन् । यो नीतिको सबैभन्दा विश्वासिलो संयन्त्र बन्नुपर्छ ।

नीतिलाई नतिजामा पुुर्याउने आधार नदिए बजेट विश्वासिलो संयन्त्र बन्न सक्दैन । बजेटले विकासलाई आधार दिन र परिवर्तनलाई द्योतन गर्न सक्नुपर्छ । विभिन्न वर्ग, क्षेत्र, भूूगोल र विषयबीच सम्बन्धको आधार बन्नुपर्छ । न्याय र सन्तुलनको आधार दिन सक्नुपर्छ । उत्पादन र उपभोगबीच सम्बन्ध र सहजीकरण गर्न सक्नुपर्छ । र सबैभन्दा महत्वपूर्ण कुरा बजेटले समाजमा सुरक्षा र भविष्यको आशा जगाउन सक्नुपर्छ । यी संयन्त्रात्मक भूमिका निर्वाह गर्न नसके बजेट आफैँ त निष्प्रभावी भइहाल्छ, राज्य व्यवस्थामाथि प्रश्न उठाउने आधार दिन पुुग्छ ।

 बजेटलाई वास्तविक बनाउने काम सामान्य हो । यसका लागि ठूलो विज्ञता चाहिँदैन, इमानदार सोच र त्यसलाई कार्यरूप दिने तत्परता भए पुुग्छ । बजेट व्यवस्थापनका तर्जुमा, प्रस्ताव, छलफल, स्वीकृति, कार्यान्वयन र मूल्यांकन चरणबीच तार्किक सम्बन्ध कायम गर्ने प्राविधिक क्षमताले बजेटलाई वास्तविक र कार्यान्वयनयोग्य बनाउँछ । बजेट तर्जुमाको जग राष्ट्रिय योजना आयोगमा रहेको स्रोत समिति हो । यसमा नीति नेतृत्व गर्ने आयोगका अध्यक्ष, खर्च व्यवस्थापनको नेतृत्व गर्ने मालेखा नियन्त्रक, राजस्व तथा सहायता परिचालनको नेतृत्व लिने अर्थ सचिव र सरकारको निक्षेप तथा भुक्तानी व्यवस्थापन गर्ने नेपाल राष्ट्र बैंकका गभर्नर रहेका हुन्छन् ।

बजेट व्यवस्थापनका तर्जुमा, प्रस्ताव, छलफल, स्वीकृति, कार्यान्वयन र मूल्यांकनका चरणबीच तार्किक सम्बन्ध कायम गर्ने प्राविधिक क्षमताले बजेटलाई वास्तविक र कार्यान्वयनयोग्य बनाउँछ

यो प्राविधिक समितिमा वित्तीय आँकडा मात्र रहँदैनन्, अन्तर्राष्ट्रिय गतिविधिको विश्लेषण, आन्तरिक आर्थिक गतिविधिको प्रवृत्ति आकलन र संकेत टिप्न सक्ने क्षमता पनि रहन्छ । यही स्रोत समितिले बजेटको आकार निर्धारण, मार्गदर्शन तयार र मन्त्रालयगत बजेट सीमा वितरण गर्ने काम गर्छ । विनियोजनको आधार तयार गर्ने, प्रस्तावहरूको प्राथमिकीकरण गर्ने काम पनि यसैको हो । पहिलो चरण जति वस्तुनिष्ठ हुन सक्यो, त्यसैको सापेक्षमा अरू चरण वास्तविक हुने हुन् । त्यसपछि सम्बन्धित मन्त्रालय÷सचिवालयले प्राप्त सीमा तथा मार्गदर्शनका आधारमा आगामी वर्षका लागि क्रियाकलापमा आधारित खर्च प्रस्ताव र तीनवर्षे अनुमानित खर्च खाका बजेट व्यवस्थापन सूचना प्रणाली (एलएमबिआइएस) मा प्रस्तुत गर्छन् ।

प्राविधिक तहमा छलफल भई तय भएको बजेट प्रस्तावलाई अर्थमन्त्रीले राजनीतिक संयोजन गरी संघीय संसद्मा प्रस्तुत गर्छन् । बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल गर्न १५ फागुनदेखि सुरु हुने संसद्को पूर्वबजेट छलफलले सिद्धान्त र प्राथमिकतालाई परिष्कृत बनाई बजेट वास्तविकताको आधार दिन्छ । साथै बजेट प्रस्तुतिपछि दफाबार छलफलमा आफूले दिएका सुुझावअनुरूप नीति र विनियोजन आए–नआएको परीक्षण गरी बजेटलाई संसद्ले स्वीकृत गर्छ । कार्यान्वयन सहजीकरण तथा समीक्षाका लागि कार्यकारिणीभित्र मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय विकास समस्या समाधान समिति र संसद्मा संसदीय समिति रहेका छन् । यस अर्थमा बजेट वास्तविक र कार्यान्वयनयोग्य नहुनुुपर्ने कारण देखिँदैन ।

 तर, यथार्थ बेग्लै छ । बजेटको आकार र वास्तविकताबीच ठूलो खाडल छ । आन्तरिक राजस्व लक्ष्यअनुरूप संकलन हुँदैन भने करिब ४० प्रतिशतजति अर्थतन्त्रको हिस्सा छायामा छ, जसलाई औपचारिक प्रक्रियामा समेट्न सकिए मात्र पनि ठूलो मात्रामा आन्तरिक स्रोत संकलन गर्न सकिन्छ ।

विनियोजन न्यायपूर्ण र सन्तुुलित छैन । प्रभावशाली नेता, कर्मचारीका जिल्लाले विनियोजनमा प्राथमिकता पाउँदै आएका छन्, आवाजविहीन क्षेत्र उपेक्षामा छन् । परिणामतः विकासमा विषमता देखिँदै आएको छ । बजेट खर्चलाई वस्तुनिष्ठ र सामयिक बनाउन बजेट प्रस्तुत गर्ने मिति संविधानमै तोकिएको छ, तर कार्यान्वयनले यसलाई समर्थन गरेको छैन ।

आयोजना बैंक र मध्यकालीन खर्च संरचना औपचारिक छन्, बजेट कोडिङ मनोगत छ, जसले नीति प्रतिबद्धता र बजेटबीचको अन्तरसम्बन्ध सबल देखाउँदैन । आफ्नै प्रतिबद्धताअनुरूप मन्त्रालयसित खर्च गर्ने सामथ्र्य छ्रैन । रणनीतिक महत्वका र राष्ट्रिय गौरवका आयोजनामा खर्च कम हुने गरेको छ । एकातिर कतिपय आयोजना अकोषित/अद्र्धकोषित छन् भने अर्कातर्फ अन्तिम चौमासिकमा कार्यक्रम संशोधन र रकमान्तरले वित्तीय अनुुशासनलाई उपेक्षा गरेको छ । निजी तथा सामुदायिक क्षेत्र परिचालनको नीति समीक्षा र सहजीकरणले प्राथमिकता पाएको छैन । 

बजेट वास्तविक नहुँदा समृद्धि तथा रूपान्तरणको यात्रा निरन्तर पछि धकेलिएको छ र जनमानसमा, विशेषतः युवामा आशाभन्दा निराशा बढ्दै गएको छ । आन्तरिक अर्थतन्त्र उदीयमान छिमेकी अर्थतन्त्रको छायामा पर्दै छ । असीको दशकसम्म छिमेकीहरू हाम्रै समकक्षमा थिए ।

अहिले घातांकीय वृद्धिमा छन् । सन् १९७८ बाट विकास यात्रा सुरु गरेको चीनले आफ्नो ‘इकोनोमिक डबल टायम’ एकलअंकीय वर्षमा झारेको छ । सत्तरीको दशकबाट कृषि उपजको निर्यात गरेर विकास अभियानमा लागेको भारतले स्पेस टेक्नोलोजीदेखि एसइमईसम्म प्रभाव पार्ने नीति कार्यान्वयन गरी स्वावलम्बी र प्रतिस्पर्धी अर्थतन्त्रको यात्रामा छ । प्राकृतिक स्रोत, जनसांख्यिक अवस्था, भौगोलिक तथा वातावरणीय विविधिता र अवस्थितिगत विशिष्टताले विकासको प्रचुर सम्भावना बोकेको नेपाली अर्थतन्त्रले अबको समय गुमाउनुहुन्न । आगामी वर्षको बजेट त्यसको सन्दर्भ बिन्दु बन्नुपर्छ । 
 

सुझावित समाचार