आइपिएलका कीर्तिमानी खेलाडी

शुक्रबार, ९ चैत, २०८०
डिजिटल संस्करण

विश्वचर्चित इन्डियन प्रिमियर लिग (आइपिएल)को १७औँ संस्करण शुक्रबारदेखि सुरु हुँदै छ । उद्घाटनमा बलिउडका चर्चित गायक तथा कलाकारहरूले प्रस्तुति दिने कार्यक्रम छ । टी–२० फ्रेन्चाइजमै अलग स्थान बनाएको आइपिएलको उद्घाटनअघि बिहीबार साबिक विजेता चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले आफ्नो पद छाडेका छन् । आइपिएलमा पनि सर्वाधिक सफल कप्तान रहेका धोनी अब खेलाडीका रूपमा मात्रै देखिनेछन् । कप्तानका रूपमा उनले चेन्नईलाई सर्वाधिक पाँचपटक उपाधि दिलाए ।

 उद्घाटन खेल साबिक विजेता चेन्नई र रोयल्स च्यालेन्जर्स बेंग्लोरबीच हुनेछ । गत वर्षको विजेताले २० करोड भारु पाएको थियो । पहिलो संस्करणको विजेता राजस्थानले चार करोड ८० लाख भारु पाएको थियो । आयोजकले यस सिजनको पुरस्कार राशि सार्वजनिक गरेको छैन । २०२४ को आइपिएल अक्सनमा अस्ट्रेलियाका मिचेल स्टार्क अहिलेसम्मकै सर्वाधिक महँगा खेलाडी बनेका छन् । १६औँ संस्करणसम्म आइपिएलका कीर्तिमानी खेलाडी :

सर्वाधिक रन : विराट कोहली २३७ खेल, ७२६३ रन (२००८–२३)
आइपिएल इतिहासमा एकै फ्रेन्चाइज टोलीबाट खेल्ने खेलाडी कमै मात्र छन् । भारतका पूर्वकप्तान विराट कोहली यसैमध्ये पर्छन् । २००८ देखि ०२३ सम्म उनले रोयल च्यालेन्जर्स बेंग्लोरबाट खेलेका थिए । सधैँ स्टार खेलाडीले भरिने बेंग्लोरले एकपटक पनि उपाधि चुम्न सकेको छैन । सिजनमा सधैँ बेंग्लोरलाई उपाधि दाबेदार टोलीका रूपमा हेर्दा कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।

उनी आइपिएलमा धेरै रन बनाउने ब्याट्सम्यानमा पर्छन् । उनले २३७ खेलमा सात हजार २६३ रन बनाएका छन् । आइपिएलमा उनले सात शतकीय र ५० अर्धसतकीय इनिङ्स खेलेका छन् । उत्कृष्ट फर्ममा रहँदा बलरमाथि हाबी हुने कोहलीले ६४३ चौका र २३४ छक्का प्रहार गरेका छन् । अहिलेसम्म ३४ पटक नटआउट रहेका उनको सर्वाधिक व्यक्तिगत रन नै ११३ हो । कोहलीपछि भारतकै शिखर धवन दोस्रो स्थानमा छन् । धवनले २१७ खेलमा ६ हजार ६१७ रन बनाएका छन् । 

छिटो शतक : क्रिस गेल ३० बल : सय रन
वेस्ट इन्डिजका क्रिस गेल टी–२० फम्र्याटकै विशेषज्ञ ब्याट्सम्यान हुन् । यद्यपि, विश्वमा टी–२० फम्र्याटको खेल नहुँदा पनि उनी एकदिवसीय र टेस्ट खेलमा आक्रामक रूपमै ब्याटिङ गर्न रुचाउँथे । जब भारतमा आइपिएल प्रारम्भ भयो, गेलले आफ्नो विस्फोटक ब्याटिङ प्रदर्शन प्रत्येक सिजनमा देखाए । आइपिएलमा उनको नाममा अद्भुत रेकर्ड छ । उनको नाममा रहेको कम बलमै शतकीय इनिङ्स खेल्ने रेकर्ड अहिलेसम्म तोडिएको छैन । उनले २०१३ मा बेंग्लोरबाट पुने वारियर्सविरुद्ध ३० बलमै शतक लगाएका थिए । उनले कीर्तिमानी शतक लगाएको प्रतिस्पर्धामा ६६ बलमै १७५ रन जोडेका थिए । यसअघि कोलकाता नाइट राइडर्सबाट युसुफ पठानले ३७ बलमा मुम्बईविरुद्ध शतक बनाएका थिए ।  

सर्वाधिक अर्धशतक : डेभिड वार्नर
अर्धशतक : ६१ (२००९–२३)

अस्ट्रेलियन बायाँहाते ब्याट्सम्यान डेभिड वार्नर आइपिएलकै सफल खेलाडीमा पर्छन् । १४ वर्षको करिअरमा उनले दुई टोलीबाट मात्र प्रतिस्पर्धा गरेका छन् । सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सबाट उनले आइपिएल खेलेका छन् । निरन्तर आइपिएल खेल्दै आएका वार्नर धेरै अर्धशतक बनाउने खेलाडीमा पर्छन् । उनले १७६ इनिङ्समा ६१ अर्धशतकीय इनिङ्स खेलेका छन् । यसक्रममा २२ पटक नटआउट रहेका वार्नरले चार शतकीय इनिङ्स पनि खेलेका छन् । आइपिएलमा उनले ६ हजार ३९७ रन बनाएका छन् । ११ पटक शून्यमा आउट भएका वार्नरले ६४६ चौका र २२६ छक्का प्रहार गरेका छन् । दोस्रो स्थानमा रहेका कोहली, धवन र एबी डी भिलियर्सले समान ५० अर्धशतकीय इनिङ्स खेले । 

सर्वाधिक विकेट : युजभेन्द्र चहल
१३४ खेल : १८७ विकेट (२०१३–२३)

भारतका युजभेन्द्र चहल आइपिएलकै सर्वाधिक विकेट लिने बलर हुन् । राजस्थान, रोयल च्यालेन्जर्स बेंग्लोर हुँदै चेन्नई सुपर किंग्समा आबद्ध भएका चहलले एक सय ४५ खेलमा एक सय ८७ विकेट लिएका छन् । सन् २०१३ देखि आइपिएलमा आबद्ध चहलले एकपटक मात्र एकै खेलमा पाँच विकेटको प्रदर्शन गरेका छन् । उनले ६ पटक चार विकेट लिएका छन् । आइपिएलमा उनको उत्कृष्ट प्रदर्शन ४०/५ रहेको छ । एक सय ४४ इनिङ्समा उनले चारपटक मात्र मेडन ओभर गरेका छन् । १० वर्षे आइपिएल यात्रामा उनले तीन हजार एक सय ७३ रन खर्चेका छन् । वेस्ट इन्डिजका जोन ब्राभो सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन् । सन् २००८ देखि ०२२ सम्म आइपिएल यात्रामा उनले एक सय ८३ विकेट लिएका छन् ।

महँगा खेलाडी : मिचेल स्टार्क
२४ करोड ७५ लाख भारु

यस सिजनको आइपिएल अक्सनमा धेरै रेकर्ड बने । अक्सनमा कसैले पनि कल्पना नगरेको रकम खेलाडीमाथि खनाइएको थियो । कोलकाताले अस्ट्रेलियाका मिचेल स्टार्क भित्र्याउन अन्तिम समयमा २४ करोड ७५ लाख भारु खर्चिएको छ । यो रकम आइपिएल इतिहासमै सर्वाधिक महँगो हो । यद्यपि, स्टार्कको सुरुवाती मूल्य नै दुई करोड भारु राखिएको थियो । यसै अक्सनमा अस्ट्रेलियाकै प्याट कमिन्स आइपिएलकै दोस्रा महँगा खेलाडी हुन् । सनराइजर्स हैदराबादले उनलाई अनुबन्ध गर्न २० करोड ५० लाख भारु खर्चियो । उनको पनि औसत मूल्य दुई करोड भारु थियो । सन् २०२३ को सिजनमा पन्जावले साम कुरानलाई १८ करोड ५० लाख भारु खर्चेको थियो । आइपिएल इतिहासमै सर्वाधिक महँगा शीर्ष ६ को सूचीमा विदेशी नै छन् । सन् २०१५ मा भारतका युवराज सिंहलाई दिल्लीले १६ करोड भारुमा भित्र्याएको थियो ।

See More On

सुझावित समाचार