नेपाल फेरि एसोसिएटको नम्बर एक राष्ट्र बन्न सक्छ : आइसिसी अध्यक्ष

बुधबार, ७ चैत, २०८०
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अध्यक्ष ग्रेग बारक्लेले एसोसिएट राष्ट्रमा नेपाल पुनः नम्बर एक टोली बन्न सक्ने बताएका छन् । नेपालको चारदिने भ्रमणको क्रममा मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङसँगको वार्तामा आइसिसीका अध्यक्ष बारक्लेले एसोसिएट क्षेत्रमा नेपालका सम्भावना अझै धेरै रहेको जनाएका हुन् । ‘सीमित स्रोत र साधनका बाबजुद नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगत्मा धेरै प्रगति गरेको छ,’ उनले भने, ‘म नेपालको क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रयास गर्छु ।’ 

राखेपका सदस्यसचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालकोे शीर्ष स्थानलाई आगामी दिनमा पनि कायम राखिराख्ने प्रयास जारी रहेको टिप्पणी गरेका छन् । उनले राज्यबाट क्रिकेट क्षेत्रमा पूर्वाधार विकासमा चासो दिएर लगानी गरिरहेको जानकारी अध्यक्ष बारक्लेलाई दिएका छन् । ‘सरकारले मूलपानी, चितवनको गौतमबुद्ध र मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको गरी लगानी गरिरहेको छ,’ घिसिङले भने । 

धेरै अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गराउन आग्रह
सदस्यसचिव घिसिङले सन् २०२७ को आइसिसी यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक रूपमा चयन गरेको उल्लेख गर्दै आइसिसीलाई धन्यवाद दिएका छन् । तीन वर्षपछि बंगलादेश र नेपालले संयुक्त रूपमा यू–१९ महिला टी–२० विश्वकप गर्दै छन् । क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहेको स्मरण गराउँदै घिसिङले नेपालमा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने वातारण बनाइदिन आग्रह गरेका छन् । 

सुझावित समाचार